२०८३ मंसिर ९ गते मंगलबार

२२ वर्षपछि हुन लागेको सम्यक महादानको तयारी, परम्परा नमासिने गरी भुइख्याःको व्यवस्थापन गरिँदै

२२ वर्षपछि हुन लागेको सम्यक महादानको तयारी, परम्परा नमासिने गरी भुइख्याःको व्यवस्थापन गरिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ७ गते आइतबार ०२:५७

सम्यक महादानका क्रममा खाना पकाउनुपर्ने स्थानका विषयमा प्रहरी चौकीसँग पनि छलफल गरिएको डंगोलले बताइन् । प्रहरी चौकीमा खाना पकाउने परम्परागत व्यवस्था रहेकाले सम्बन्धित प्रहरी अधिकारीहरूसँग छलफल गरिएको र त्यसका लागि प्रहरी प्रशासनबाट सकारात्मक सहयोगको प्रतिवद्धता आएको उनको भनाइ छ ।

काठमाडौँ ।

२२ वर्षपछि आयोजना हुन लागेको सम्यक महादानलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले परम्परागत धार्मिक स्थल र संरचनाको संरक्षणसँगै व्यवस्थापकीय तयारी अघि बढाएको छ ।

काठमाडौं महानगरपालिकाले आगामी माघ १ गते सम्यक महादान आयोजना गर्ने तयारी गरेको छ । त्यसको पूर्वतयारीस्वरूप महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आईतवार भुइख्याः क्षेत्रको स्थलगत निरीक्षण गरेकी छिन् ।

सम्यक महादानका लागि आवश्यक स्थानको पहिचान, परम्परागत विधिअनुसार प्रयोग हुँदै आएका क्षेत्रको संरक्षण र व्यवस्थापनको योजना बनाउन अनुगमन गरिएको डंगोलले बताइन् ।

उनकाअनुसार भुइख्याःमा सदियौँदेखि सम्यक महादान आयोजना हुँदै आएको परम्परालाई निरन्तरता दिने उद्देश्यले महानगरले तयारी गरिरहेको छ । डंगोलले विगतको तुलनामा अहिले भुइख्याः क्षेत्रको स्वरूपमा धेरै परिवर्तन आइसकेको बताइन् ।

पहिले खुला मैदान रहेको क्षेत्रमा अहिले घर तथा सडक निर्माण भइसकेकाले परम्परागत गतिविधि सञ्चालनका लागि स्थान व्यवस्थापन चुनौतीपूर्ण बनेको उनको भनाइ छ । त्यसैले परम्परागत मूल्य, मान्यता र धार्मिक विधि नमासिने गरी अहिलेको भौतिक संरचना तथा परिस्थितिअनुसार व्यवस्थापन गर्ने योजना महानगरले बनाएको छ ।

निरीक्षणका क्रममा सम्यक महादानसँग सम्बन्धित विभिन्न परम्परागत स्थानहरूको पहिचान गरिएको छ । परम्पराअनुसार खाना पकाउने, पातको काम गर्ने तथा भगवान् राख्ने छुट्टाछुट्टै स्थान रहेकाले ती क्षेत्रको अवस्थाबारे प्राविधिक टोलीसहित स्थलगत अध्ययन गरिएको डंगोलले जानकारी दिइन् ।

यस क्रममा विगतमा सम्यक महादान आयोजना गर्दा कुन स्थानमा के–कस्ता गतिविधि सञ्चालन गरिन्थ्यो भन्ने विषयमा ज्येष्ठ तथा अनुभवी व्यक्तिहरूसँग पनि परामर्श गरिएको उनले बताइन् ।

उनकाअनुसार अहिले केही परम्परागत स्थानमा नयाँ संरचना निर्माण भइसकेका छन् भने कतिपय स्थानको स्वरूपसमेत परिवर्तन भएको छ । यस्तो अवस्थामा पुराना धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनका लागि छुट्याइएका स्थानको संरक्षण गर्दै पुनः प्रयोगमा ल्याउने विषयलाई महानगरले प्राथमिकतामा राखेको छ ।

सम्यक महादानका क्रममा खाना पकाउनुपर्ने स्थानका विषयमा प्रहरी चौकीसँग पनि छलफल गरिएको डंगोलले बताइन् । प्रहरी चौकीमा खाना पकाउने परम्परागत व्यवस्था रहेकाले सम्बन्धित प्रहरी अधिकारीहरूसँग छलफल गरिएको र त्यसका लागि प्रहरी प्रशासनबाट सकारात्मक सहयोगको प्रतिवद्धता आएको उनको भनाइ छ ।

त्यस्तै, पातको काम हुने स्थानको अवस्थाबारे पनि स्थलगत निरीक्षण गरिएको छ । समयक्रमसँगै भौतिक संरचना र पूर्वाधारमा परिवर्तन आएकाले पुरानो परम्परालाई जस्ताको तस्तै सञ्चालन गर्न सम्भव हुने र नहुने पक्षको अध्ययन भइरहेको उनले बताइन् ।

डंगोलले सम्यक महादानको तयारीमा महानगरपालिकाको प्राविधिक तथा सांस्कृतिक टोलीलाई समेत परिचालन गरिएको जानकारी दिइन् । सांस्कृतिक पक्ष र भौतिक पूर्वाधारको अवस्थालाई छुट्टाछुट्टै अध्ययन गरी दुवै पक्षलाई समेट्ने गरी योजना बनाइने उनको भनाइ छ ।

स्थलगत निरीक्षणपछि परम्परागत धार्मिक अभ्यासलाई निरन्तरता दिन सकिने स्थान, आवश्यक पूर्वाधार तथा व्यवस्थापनका विषय समेटेर ठोस योजना तयार पारिने महानगरले जनाएको छ ।

सम्यक महादान बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो । यसमा विभिन्न विहार तथा महाविहारका भिक्षुहरूलाई दान तथा भोजन अर्पण गरिन्छ ।

लामो समयपछि आयोजना हुन लागेको यस महादानले काठमाडौं उपत्यकाको बौद्ध सम्पदा, मौलिक संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८३ मंसिर ७ गते आइतबार ०२:५७
हजुरको प्रतिक्रिया