२०८३ मंसिर ९ गते मंगलबार

बेचबिखनमा परेका पीडितको गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँ जरिवाना गर्न प्रश्ताव

बेचबिखनमा परेका पीडितको गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँ जरिवाना गर्न प्रश्ताव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ८ गते सोमबार ०२:५३

महिला तथा बालबालिकाहरु देशभित्र नै आन्तरिक रुपमा बेचविखनमा पर्ने गरेको उनीहरुको भनाई छ । विशेष गरि ग्रामिण क्षेत्रका आर्थिक रुपमा कमजोर समुदायका बालबालिकाहरु शहरी क्षेत्रमा बेचविखनमा पर्ने गरेको सांसदहरुले बताएका छन् ।

काठमाडौँ ।

सांसदहरुले मानव बेचविखनमा परेका पीडितहरुको गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्नुपर्ने प्रश्ताव राखेका छन् ।

महिला तथा सामाजिक मामिला समितिमा सोमबार भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले यस्तो प्रश्ताव गरेका हुन् ।

उनीहरुले पीडितको पहिचान सुरक्षित राख्नुपर्नेमा जोड दिँदै गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना र १ वर्ष कैद सजायको व्यवस्था गर्नुपर्ने प्रश्ताव राखेका छन् ।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती वि.क.ले अपराध नियन्त्रणका लागि कडा कानून आवश्यक रहेको बताइन् ।

उनले पीडितको गोपनीयता उल्लंघन गर्नेलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजाय कायम गर्नुपर्ने प्रश्ताव राखिन् । हाल प्रश्तावित जरिवाना पर्याप्त नभएको उनको भनाई छ ।

हाल विधेयकमा पीडितको गोपनीयता उल्लंघन गर्नेलाई १० देखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । सांसद वि.क.ले अपराध गर्नुअघि नै सजायको डर हुनेगरी कानूनी व्यवस्था गर्नुपर्ने बताइन् ।

अपराध गरेका व्यक्तिलाई सुधार्ने उद्देश्यसहित कानून बनाउनुपर्ने भएपनि सजायको व्यवस्था कमजोर बनाउन नहुने उनको भनाई छ । साथै, निर्दोष व्यक्तिमाथि अन्याय हुन नदिन निष्पक्ष छानबिनको व्यवस्था पनि आवश्यक रहेको उनले बताइन् ।

उनले भनिन्, ‘यो जरिवाना गर्ने कुरामा कसका लागी लचिलो हुने हो हामी ? किन हुने ? अपराध गरेकोलाई त सुधार्ने हो नि । सामान्य मान्छे, जो अपराध गरेका छैनन्, तिनहरूको पक्षमा पनि हामीले सोच्नुपर्छ । त्यसका लागि स्वच्छ प्रकारको छानबिन बनाउनुपर्छ । तर अपराध गर्नेलाई ५० हजारदेखि १ लाख जरिवाना बनाऊँ । पहिला त्यो कसैको स्टेटस म गएर औँला थिच्नुभन्दा पहिला ५० हजार गोजामा छ कि छैन त्यो हेर्छ । त्यसपछि उ ३ महिना जेल बस्ने हो कि होइन त्यो हेर्छ । त्यसकारण यसमा ५० हजार देखि १ लाखसम्म जरिवाना राखौँ, ३ महिना देखि १ वर्ष कैद राखौँ । यो विषयमा यति गर्यौँ भने अलिकति कन्ट्रोल गर्न सकिएला ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले पनि अरूको फोटो, भिडियो वा व्यक्तिगत गोपनीयता भंग हुने सामग्री सार्वजनिक गर्नेलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्मको जरिवाना एकदमै न्युन भएको बताइन् ।

जरिवानाको रकम बढाउन आवश्यक रहेको उनको भनाई छ । उनले सञ्चारमाध्याममा पीडितको घटना सार्वजनिक गर्दा लिखित सहमति अनिवार्य हुनुपर्ने व्यवस्था गर्न पनि माग गरिन् ।

पीडितले न्यायका लागि विभिन्न निकायमा पुग्दा पनि सुनुवाई नभएपछि बाध्य भएर सञ्चारमाध्यम र सामाजिक सञ्जालको सहारा लिनुपर्ने अवस्था रहेको उनको भनाई छ । तर घटना सार्वजनिक भएपछि कतिपय पीडितले सामग्री हटाउन आग्रह गर्दा सञ्चारमाध्यम र पीडित दुवै पक्ष समस्यामा पर्ने गरेको उनले बताइन् ।

लिखित सहमति भएमा सामग्री सार्वजनिक गर्ने पक्षसँग त्यसको प्रमाण रहने र पछि उत्पन्न हुने विवादमा दुबै पक्षले आफ्नो धारणा स्पष्ट पार्न सक्ने उनको भनाई छ ।

उनले भनिन्, ‘कसैले अरुको फोटो, भिडियो अथवा व्यक्तिगत गोपनीयतामा हनन हुने किसिमका कुराहरू बाहिर ल्याउँछ भने उसलाई सजाय १० हजारदेखि २५ हजार रुपैयाँको जरिवाना काम भयो । यसलाई बढाउनुपर्छ । त्यस्तै कोही पीडितले घटना बाहिर ल्याउन चाहेमा मौखिक रूपमा मात्रै नभई लिखित सहमति गर्नुपर्छ । कहिलेकाहीँ पीडकलाई कानुनले पनि देख्दैन । कानूनले नदेखेपछि पीडितहरू सामाजिक सञ्जाल वा मिडियामा जान्छन्, पत्रकारहरूकोमा जान्छन् । जब त्यो इस्यु भाइरल हुन्छ, भाइरल भएपछि होइन मेरो त डिलिट गर्दिनुप¥यो भन्दै पीडितहरू आफैँ आउनुहुन्छ । यसले मिडिया र पीडित दुवै पक्षलाई अप्ठ्यारो पर्छ । ‘लिखित’ भयो भने यसरी स्वीकृति दिनुभएको थियो, त्यसकारणले मैले तपाईँको कुराहरू बाहिर ल्याइदिएको हो भन्न सजिलो हुन्छ । पीडितको लिखित कन्सेन्ट सहितको उसले प्रचारप्रसार ग¥यो भने पीडितलाई पनि पछि जवाफ दिने ठाउँ हुन्छ । अब मौखिकको प्रमाण हुँदैन ।’

रास्वपाकै सांसद ज्ञानु पौडेलले पीडितको गोपनीयता र पहिचान संरक्षणसम्बन्धी व्यवस्था यौनिक एवं लैङ्गिक अल्पसंख्यक समुदायमा पनि विस्तार गर्नुपर्ने बताइन् ।

मानव बेचबिखनमा महिला, बालवालिकासँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि पर्न सक्ने भएकाले उनीहरूको गोपनीयता पनि सुनिश्चित गर्नुपर्ने उनको भनाई छ ।

उनले पनि पीडितले सञ्चारमाध्यममा आफ्ना कुरा प्रशारण गर्नुअघि लिखित सहमति दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताइन् । न्यायका लागि लामो समयसम्म विभिन्न निकाय धाउँदा पनि सुनुवाई नभएपछि पीडितहरू सञ्चारमाध्यममा आउन बाध्य हुने अवस्था रहेकोले पीडितले सञ्चारमाध्यामलाई लिखित सहमति दिनुपर्ने उनको भनाइ छ ।

उनले पनि व्यक्तिगत फोटो, भिडियो वा अन्य सामग्री सहमतिबिना सार्वजनिक गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न प्रश्ताव गरिन् । सामाजिक सञ्जालमा सामग्री भाइरल बनाउने र त्यसबाट आर्थिक लाभ लिने प्रवृत्तिले व्यक्तिको गोपनीयता तथा पहिचानको अधिकार उल्लंघन हुने गरेको उनको भनाई छ ।

यस्तो कार्य नियन्त्रणका लागि साइबर अपराधसम्बन्धी कानूनी व्यवस्थासँग समेत समन्वय गर्नुपर्नेमा उनले जोड दिइन् ।

उनले भनिन्, ‘हामीले पीडित बालबालिकाको गोपनीयता हक सुनिश्चित गर्न आवश्यक भएकोले भनेर लेखेका छौँ, यसमा पीडित बालबालिका, महिला र अझ यौनिक तथा अल्पसंख्यक पनि थप्नुपर्छ । महिला बालबालिका मात्रै होइन, यौनिक लैङ्गिक अल्पसंख्यक समुदाय पनि बेचविखनमा पर्न सक्छ । सजाय पनि १० हजारदेखि २५ हजार मात्र भनेकोले कम्तीमा १० हजारदेखि ५० हजार पु¥याउनुपर्छ । सहमति बिना कसैको फोटो, भिडिओ प्रचारप्रसार गर्न हुँदैन । अहिले सामाजिक सञ्जालमा जति धेरै भाइरल भयो, त्यति धेरै मान्छेले हेर्छ, पैसा कमाउँछ । कसैको गोपनीयता र पहिचान माथिको हनन गर्न मिल्दैन ।’

समितिको छलफलमा सांसदहरूले मानव बेचविखनलाई वाह्य देशमा मात्रै नभई आन्तरिक रुपमा पनि भईरहेकोले कानून निर्माण गर्दा यसतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् ।

महिला तथा बालबालिकाहरु देशभित्र नै आन्तरिक रुपमा बेचविखनमा पर्ने गरेको उनीहरुको भनाई छ ।

विशेष गरि ग्रामिण क्षेत्रका आर्थिक रुपमा कमजोर समुदायका बालबालिकाहरु शहरी क्षेत्रमा बेचविखनमा पर्ने गरेको सांसदहरुले बताएका छन् ।

प्रकाशित मिति २०८३ मंसिर ८ गते सोमबार ०२:५३
हजुरको प्रतिक्रिया