२०८३ मंसिर ११ गते बिहीबार

९० दिने कार्ययोजना ल्याएर समस्या समाधानमा लाग्छौँः उद्योगमन्त्री साह

९० दिने कार्ययोजना ल्याएर समस्या समाधानमा लाग्छौँः उद्योगमन्त्री साह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ११ गते बिहीबार ०२:३८

सरकारको कामको मूल्यांकन बैठक र छलफलको संख्याबाट नभई त्यसले व्यवसायीका समस्या समाधान गर्न पु¥याएको योगदानबाट हुनुपर्ने बताउँदै उनले भने, ‘हाम्रो सफलताको मापन हामीले कति बैठक ग¥यौँ भन्ने आधारमा होइन, कति अवरोध हटायौँ, कति लगानी सहजीकरण ग¥यौँ र कति रोजगारी सिर्जना ग¥यौँ भन्ने आधारमा हुनुपर्छ ।’

काठमाडौँ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन् ।

यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले लगानी आकर्षित गर्न प्राकृतिक स्रोत र बजारको सम्भावना मात्र पर्याप्त नहुने बताउँदै कार्ययोजना बनाएर सुधारको काम थालिने बताए ।

उनकाअनुसार लगानीका लागि नीतिगत स्थिरता, पारदर्शिता, सरकारी निर्णय प्रक्रियामा छिटोपना र लगानीकर्ताको विश्वास महत्वपूर्ण हुन्छ । त्यसका लागि ९० दिने कार्ययोजना बनाएर काम अघि बढाउने तयारी छ ।

पहिलो ३० दिनमा बेलायती तथा नेपाली व्यवसायीका प्रमुख समस्या, लगानीका प्रश्ताव र नीतिगत तथा नियामकीय अवरोध पहिचान गरिनेछ । त्यसपछिको ६० दिनभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, अन्य सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरी समाधानका उपाय खोजिनेछ ।

९० दिनको अवधिभित्रै सुधारका प्राथमिकता, जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा र प्रगति मापन गर्ने सूचकसहितको कार्ययोजना तयार गरी कार्यान्वयन तथा अनुगमन अघि बढाइने उनले जानकारी दिए ।

सरकारको कामको मूल्यांकन बैठक र छलफलको संख्याबाट नभई त्यसले व्यवसायीका समस्या समाधान गर्न पु¥याएको योगदानबाट हुनुपर्ने बताउँदै उनले भने, ‘हाम्रो सफलताको मापन हामीले कति बैठक ग¥यौँ भन्ने आधारमा होइन, कति अवरोध हटायौँ, कति लगानी सहजीकरण ग¥यौँ र कति रोजगारी सिर्जना ग¥यौँ भन्ने आधारमा हुनुपर्छ ।’

नेपाल र बेलायतबीच लामो समयदेखि कायम मित्रता तथा सहकार्यलाई अब आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने मन्त्री साहको भनाइ छ ।

दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकास र लगानी विस्तारको आधार बनाउन सकिने उल्लेख गर्दै उनले मित्रताले अवसर सिर्जना गर्ने भएपनि वास्तविक समृद्धिका लागि लगानी आवश्यक रहेको बताए ।

उनले नेपालमा जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, हरित प्रविधि, उत्पादनमूलक उद्योग, दिगो पूर्वाधार र सेवा क्षेत्रमा बेलायती लगानीको पर्याप्त सम्भावना रहेको बताए ।

त्यस्तै, नेपाली पश्मिना, गलैँचा, फेल्टजन्य सामग्री, तयारी पोसाक, हस्तकला, परम्परागत वाद्यवादन तथा जडीबुटीजन्य उत्पादनले बेलायती बजारमा थप अवसर पाउन सक्ने उनको भनाई छ ।

लगानीको सम्भावना हुँदाहुँदै पनि नीतिगत अनिश्चितता र प्रशासनिक जटिलताका कारण अपेक्षित लगानी भित्र्याउन चुनौती रहेको उनले स्वीकार गरे ।

व्यवसायीले उठाउँदै आएका दोहोरो कराधान, कर नीतिको स्थिरता, मुनाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको संरक्षण र निर्यात सहजीकरणजस्ता विषयलाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने उनले प्रतिबद्धता जनाए ।

विशेषगरी नेपाल र बेलायतबीच प्रश्तावित दोहोरो कराधान उन्मुक्ति सम्झौता (डीटीएए) लाई अगाडि बढाउन आफ्नो मन्त्रालयले अर्थ मन्त्रालय, सम्बन्धित सरकारी निकाय र बेलायती पक्षसँग आवश्यक समन्वय गर्ने मन्त्री साहले बताए ।

उक्त सम्झौताले दुई देशका लगानीकर्तालाई दोहोरो करको भारबाट राहत दिनुका साथै कर प्रणालीप्रति स्पष्टता र विश्वास बढाउने उनको विश्वास छ ।

मन्त्री साहले बेलायती कम्पनीहरूलाई नेपालमा संयुक्त लगानी, प्रविधि हस्तान्तरण, उत्पादनमूलक उद्योग र नयाँ सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

बेलायतमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्तालाई पनि आफ्नो पुँजी, अनुभव, व्यावसायिक दक्षता र प्रविधिको उपयोग गर्दै नेपालको आर्थिक विकासमा योगदान दिन उनले आह्वान गरे ।

सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पारदर्शी, स्थिर र विश्वासयोग्य व्यावसायिक वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले लगानी र नवप्रवर्तनलाई आर्थिक विकासको महत्वपूर्ण आधार बनाउनुपर्ने बताए ।

प्रकाशित मिति २०८३ मंसिर ११ गते बिहीबार ०२:३८
हजुरको प्रतिक्रिया