पोखरा । युनाइटेड क्लव पोखराको आयोजनामा यहि पुष २८ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गर्ने भनिएको एघारौं संस्करणको पोखरा महोत्सव हाललाई स्थगित गरिएको छ ।
सरकारको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै क्लवले अर्को सूचना नआइन्जेलका लागि स्थगित गरेको प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको हो ।
‘स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने हाम्रो क्लवको उद्देश्य रहेकोले जनस्वास्थ्य प्रति उत्तरदायित्व वहन गर्नु हाम्रो कर्तब्य पनि हुन आउछ । तसर्थ नेपाल सरकारको कोभिड १९ संकट ब्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्ण रुपमा पालना गर्दै एघारौं संस्करणको पोखरा महोत्सव अर्को सुचना नआइन्जेल सम्मका लागि स्थगित गरिएको यहांहरुलाई जानकारी गराउदछौ ।’ ,विज्ञप्तीमा लेखिएको छ ।
समय अनुकुल भएपछि महोत्सव सञ्चालन गर्ने पनि विज्ञप्तीमार्फत जानकारी गराइएको छ । ‘महोत्सवमा बुक गरिसकिएका स्टल व्यवसायीहरुलाई अर्को सुचना जारी भएपछि पुन सोही स्टल उपलब्ध गराउने समेत जानकारी गराउदछौ । पोखरा महोत्सव युनाईटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले हामीलाई आगामी दिनमा पनि विगतमा झै साथ र सहयोग गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौ । महोत्सव स्थगित गरिएतापनि युनाईटेड क्लवले लिएको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र विपत ब्यवस्थापनमा गर्दै आएको कामलाई निरन्तरता दिने छौ ।’ क्लवका अध्यक्ष तथा महोत्सव संयोजक राजु श्रेष्ठद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।





