पोखरा ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहको हालैको भारत भ्रमण नेपालको राष्ट्रिय हित, स्वाभिमान र सीमा सरोकारका दृष्टिले उपलब्धिविहीन रहेको टिप्पणी गरेका छन् ।
उनले राष्ट्रियताको विषयमा चर्को अभिव्यक्ति दिने प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालका महत्त्वपूर्ण सरोकारका विषय उठाउन नसकेको आरोप लगाए ।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमान कमजोर बनाएको बताए ।
विगतमा राष्ट्रियताको विषयलाई राजनीतिक अभिव्यक्तिको माध्यम बनाउने प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका सीमा विवादबारे प्रभावकारी रूपमा कुरा उठाउन नसकेको उनको भनाइ थियो ।
‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ,’ पोखरेलले भने, ‘काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्नुहुन्थ्यो । हरेक भ्रमणमा उहाँले अर्ती–उपदेश दिनुहुन्थ्यो । तर, भारत भ्रमणमा नेपालको हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन ।’
उनले नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयनमा लैजान पनि प्रधानमन्त्रीले पहल गर्न नसकेको आरोप लगाए ।
तत्कालीन एमाले नेतृत्वको सरकारका पालामा गठन भएको उक्त समूहको प्रतिवेदन बुझ्न भारत तयार नभएको अवस्थामा त्यसलाई स्वीकार गरी कार्यान्वयन गर्न प्रधानमन्त्रीले आग्रह गर्नुपर्ने पोखरेलको भनाइ थियो ।
त्यस्तै, पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा समेत भारत भ्रमणबाट ठोस उपलब्धि हासिल हुन नसकेको बताए ।
विगतमा हवाई रुट उपलब्ध नहुँदा दुवै विमानस्थलको अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदै आएको उल्लेख गर्दै उनले अहिले उडानको उचाइसम्बन्धी विषयले थप जटिलता निम्त्याउन सक्ने आशंका व्यक्त गरे ।
‘हिजो हवाई रुट नदिएर अड्किएको थियो, आज उडानको उचाइ कति हुने भन्ने बहसका नाममा नेपालले प्रयोग गर्न नपाउने स्थिति उत्पन्न हुन सक्छ,’ उनले भने ।
पोखरेलले सरकारको कार्यशैलीप्रति पनि टिप्पणी गर्दै सरकार सामाजिक सञ्जालमा मात्रै सक्रिय देखिएको आरोप लगाए ।
प्रकाशित मिति २०८३ मंसिर १२ गते शुक्रबार ०२:४७





