२०८३ मंसिर १२ गते शुक्रबार

तल्लो अरुण जलविद्युत आयोजनाको ठेक्का आह्वानः २०३० को डिसेम्बरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य

तल्लो अरुण जलविद्युत आयोजनाको ठेक्का आह्वानः २०३० को डिसेम्बरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर १२ गते शुक्रबार ०४:२५

प्रवक्ता अर्यालले आयोजनाको करिव ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान समेत भइसकेको बताए । निर्धारित समयमै विद्युत उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको निर्माणको काम अघि बढ्ने उनको भनाइ छ ।

पोखरा ।

तल्लो अरुण जलविद्युत आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताए ।

प्रधानमन्त्री बालेन्द्र साहको यही मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उक्त आयोजनको शिलान्यास गरेका थिए ।

प्रवक्ता अर्यालले आयोजनाको करिव ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान समेत भइसकेको बताए । निर्धारित समयमै विद्युत उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको निर्माणको काम अघि बढ्ने उनको भनाइ छ ।

त्यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएका २० वटा फर्म तथा कम्पनीलाई प्रचलित कानूनबमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको प्रवक्ता अर्यालले बताए ।

उनकाअनुसार निर्माण तथा परामर्श सेवासम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई रायपरामर्श उपलब्ध गराइएको छ ।

उनले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आइसकेको पनि जानकारी दिए ।

उनले भने, ‘तल्लो अरुण जलविद्युत परियोजना जुन ६६९ मेगावाटको मेटेरियलाइज्ड भएको अवस्था छ । मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीज्युहरुबाट यसको संयुक्त रुपमा शिलान्यास पनि भइसकेको छ । यस परियोजनाको जम्माजम्मी प्याकेज एक तर्फको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान पनि भइसकेको छ । र २०३० को डिसेम्बर ४ बाट यो परियोजनाबाट विद्युत उत्पादन हुनेगरी मिति समेत आजै कायम गरिएको छ ।’

उनले हेलो सरकारमा पछिल्लो १० दिनको अवधिमा तीन हजार ५१ वटा गुनासा प्राप्त भएकोमा दुई हजार ७ सय ५४ वटा फछ्र्योट गरिएको र २ सय ३४ वटा गुनासा सम्बोधन गरिएको समेत जानकारी दिए ।

 

प्रकाशित मिति २०८३ मंसिर १२ गते शुक्रबार ०४:२५
हजुरको प्रतिक्रिया