३ मंसिर, स्याङ्जा/आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले कर्मचारी, स्रोत र साधनको अभाबका बाबजुद पनि पहिलो कार्यकालमा विकास र कानुनी जग बसाल्ने काम भएको बताएका छन् । सुरुमा वर्ष कानुन निर्माणमै समय लागेको र पछिल्ला वर्ष कोरोना माहामारीका कारण दू्रत गतिमा काम हुन नसकेपछि धेरै कुराको जग बसाल्ने काम सकिएको बताए ।
आँधिखोला गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष पौडेलले स्थानीय तहले आफैं कानुन बनाएर काम गर्नुपर्ने बाध्यताका बीच धेरैजसो कानुन निर्माण र विकास निर्माणको कामको जग हाल्ने काम सकिएको बताएका हुन् । ‘स्थानीय सरकारमा निर्वाति भएर आएपछि जनताका असिमीत चाहाना र माग थिए । विकास निर्माणलाई व्यवस्थित गर्नुपर्ने थियो,’ अध्यक्ष पौडेलले भने, ‘कार्यकालको अन्तिम वर्षसम्म आइपुग्दा धेरैजसो कानुन बनेका छन्, पूर्वाधार निर्माणले जनताको घर आँगनलाई छोएको छ ।’
पालिकाले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको र जनताका धेरैभन्दा धेरै मागलाई सम्बोधन गर्न सकेको पौडेलको भनाइ थियो । ‘सुरुमा हामीलाई सिक्नै समय लाग्यो, सीमित कर्मचारी र स्रोत साधन लिएर काम अगाडि बढाउनुपर्ने थियो,’ अध्यक्ष पौडेलले भने, ‘यो कार्यकालमा मुख्य सडकहरु पिच भएका छन् । केही योजना प्रक्रियामै छन् । कृषिमा धेरै नै जनताले अनुदान र प्रोत्साहन पाएका छन् ।’
कार्यक्रममा सेवाग्राहीले सडक निर्माणमा अनुगमन हुन नसकेको, उपभोक्ता समितिले योजना निर्माण ठेक्कामा लगाएको, कृषि अनुदान पहुँचका आधारमा दिइएको, शिक्षालाई व्यवस्थित बनाउन नसकेकोजस्ता गुनासा गरेका थिए । जवाफ दिँदै अध्यक्ष पौडेलले प्राविधिकले विकास निर्माणको अनुगमन गरेरमात्र योजना पछ्यौट हुने गरेको बताए । उपभोक्ता समितिमार्फत आँधिखोलामा ठेक्का लगाउने काम हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै पौडेलले कहीँ कमजोरी भए सुधार्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष शर्मीला पौडेलले आफ्नो संयोजकत्वमा रहेको अनुगमन समितिलाई प्रभावकारी बनाउन कडाइसाथ काम गरिएको बताइन् । विकास निर्माण र पालिकाका योजनामा तलमाथि हुन नदिन प्राविधिकसहित नियमित निरीक्षण भएको, बजार अनुगमन गर्ने काम भइरहेको उनले बताइन् । न्यायिक समितिलाई सबैको पहुँचमा पु¥याउने र प्रभावकारी न्याय सम्पादन गर्न ध्यान दिइएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले पालिकाले गरेको विकास निर्माण र सेवा प्रवाहका विषयमा जानकारी गराएका थिए । बार्दली मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रममा जनप्रतिनिधिले जनताको कामलाई पहिलो प्राथमिकतामा राखेर पालिकालाई व्यवस्थित गर्न लागि पर्ने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति २०७९ असार २० गते सोमबार १२:२०




