आर्थिक वर्ष २०७८/७९ मा नौ वटा मुद्दा फछर्याैट
मनाङ, १९ साउन
हिमाली जिल्ला मनाङमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्यांक देखाएको छ । विगतमा सम्बन्ध विच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौ वटा मुद्दा फछर्याैट भएको जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्ध विच्छेदका घटना बढ्ने क्रममा रहेको हो ।
‘विगतमा मनाङमा सम्बन्ध विच्छेदका घटना दर्ता नै भएको तथ्यांक छैन । तर हाल भने दर्ता हुने र फछ्र्यौट पनि हुने गरेको छ । यस आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका घटना फछ्र्यौट भएको छ,’ जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश पुनाराम खनालले भने,‘यहाँ पनि सम्बन्ध विच्छेदका घटना बढ्दो क्रममा रहेको छ ।’
श्रेस्तेदार बडूले प्रविधिको सही उपयोग हुनुभन्दा दुरुपयोगले यस्ता घटना वृद्धि भएको बताए । । उनका अनुसार जिल्लामा सम्बन्ध विच्छेदपछि अभद्र व्यवहारका घटना हुने गरेको छ । आव २०७८÷७९ मा १५ मुद्दा दर्ता भएका थिए । एउटा बाहेक अन्य सबै फछ्र्यौट भएको अदालतले जनाएको छ । अभद्र व्यवहार गर्ने मुद्दा तीन, कर्तव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका एक वटा मुद्दाको फछ्र्यौट भएको श्रेस्तेदार बडूले बताए । एउटा जबर्जस्ती करणीको मुद्दा भने फैसला बाँकी रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति २०७९ साउन १९ गते बिहीबार ०१:४८




