२०८३ साउन २१ गते बिहीबार

दोस्रो जनआन्दोलनको प्रथम सहिदका छोरालाई एमबिबिएस पढाउँदै पोखरा महानगर

दोस्रो जनआन्दोलनको प्रथम सहिदका छोरालाई एमबिबिएस पढाउँदै पोखरा महानगर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ साउन २६ गते बिहीबार ०६:३९

एमबिबिएस अध्ययनका लागि मेडिकल काउन्सिलमार्फत उनले मणिपाल शिक्षण अस्पताल रोजेका छन् । एमबिबिएस पढ्न शुल्कमात्र ४६ लाख रुपैयाँ खर्च लाग्छ । पोखराकै भएको र जनआन्दोलनकै प्रथम शहिदको छोरा पनि भएकाले महानगरले सम्मान स्वरुप उनको पढाइ खर्च ब्यहोर्ने निर्णय गरेको मेयर धनराज आचार्यले जानकारी दिए ।

दोस्रो जनआन्दोलनका प्रथम शहिद भीमसेन दाहालका छोरा विस्तृत दाहाललाई पोखरा महानगरपालिकाले एमबिबिएस निशुल्क पढाइदिने भएको छ । पोखरा महानगरको मंगलबार बसेको कार्यपालिका बैठकले दाहाललाई एमबिबिएस पढ्ने खर्चको व्यवस्थापन गरिदिने निर्णय गरेको हो ।

जनआन्दोलनका क्रममा २०६२ चैत २६ गते नेपाली सेनाले आन्दोलन दमन गर्न गोली चलाएको गोली लागेर महेन्द्रपुलमा भीमसेनले ज्यान गुमाएका थिए । उनी नै जनआन्दोलनमा ज्यान गुमाउने पहिलो व्यक्ति थिए । दाहालको मृत्युपछि राजतन्त्र तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको विरुद्धमा झन् बढी आन्दोलन तालेको थियो ।
जनआन्दोलनमा भीमसेनले ज्यान गुमाउँदा विस्तृत २ वर्षका मात्र थिए । १६ वर्षपछि विस्तृतले एमबिबिएसका लागि शिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा चैत २४ गते नाम निकाल्न सफल भएका थिए । उनले निकालेपछि एमबिबिएस पढाउनका लागि भीमसेनकी श्रीमती सविता र विस्तृतले विभिन्न नेताहरुलाई भेटेका थिए ।

केन्द्रीय शिक्षामन्त्री देवेन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्मलाई भेटेर विस्तृतलाई पढ्नका लागि व्यवस्था गरिदिन परिवारले आग्रह गरेको थियो । तर, केन्द्रबाट कुनै पार नलागेपछि सविताले पोखरा महानगरलाई आग्रह गर्दै निवेदन दिएकी थिइन् ।

विस्तृतले एमबिबिएस अध्ययनका लागि मेडिकल काउन्सिलमार्फत मणिपाल शिक्षण अस्पताल रोजेका छन् । एमबिबिएस पढ्न शुल्कमात्र ४६ लाख रुपैयाँ खर्च लाग्छ । पोखराकै भएको र जनआन्दोलनकै प्रथम शहिदको छोरा पनि भएकाले महानगरले सम्मान स्वरुप उनको पढाइ खर्च ब्यहोर्ने निर्णय गरेको मेयर धनराज आचार्यले जानकारी दिए ।

‘छात्रवृद्धि वा अन्य कुनै माध्यमबाट पढाउने व्यवस्था खोज्दै केन्द्रसम्मै पुगेर कुनै सीप नलागेपछि महानगरमा आएर उहाँले निवेदन दिनुभएको रहेछ,’ मेयर आचार्यले भने, ‘विद्यार्थी पनि पढ्न अब्बल रहेछन् । जनआन्दोलनकै प्रथम सहिद, त्यो पनि पोखराकै हुँदा हामीले सम्मान गर्नुपर्छ भनेर कार्यपालिकाको बैठकबाटै एमबिबिएस पढ्न लाग्ने खर्चको महानगरले व्यवस्था गर्ने निर्णय गरेका हौं ।’

दाहाल परिवार अहिले पोखरा–१७ मा बस्छ । बिस्तृतले कक्षा १० सम्म सैनिक आवसिय र कक्षा १२ सम्म एसओएस हर्मन माइनर स्कुलमा पढेका हुन् ।

प्रकाशित मिति २०७९ साउन २६ गते बिहीबार ०६:३९
हजुरको प्रतिक्रिया