२०८३ साउन २१ गते बिहीबार

पोखरा उद्योग वाणिज्य संघको चुनावमा पवन प्रजापतीको प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघको चुनावमा पवन प्रजापतीको प्यानल घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ ६ गते सोमबार १२:२८

पूर्व अध्यक्षहरुसँगै भएको वार्तामा सर्वसम्मतको प्रयास भएपनि त्यसले सार्थकता नपाएपछि आफूले पत्रकार सम्मेलन मार्फत् टिम घोषणा गरेको प्रजापतीकाे दाबी छ ।

को को छन् प्यानलमा ?

पोखरा, ६ भदौ

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनबाट नेतृत्व लिन अध्यक्षको उम्मेदवारी घोषणा गरेका पवन प्रजापतीले आफ्नो टिम घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रजापतीले सोमबार पत्रकार सम्मेलन मार्फत् टिम घोषणा गरेका हुन् । आगामी भदौ २४ र २५ गते संघको महाधिवेशन हुँदैछ भने त्यसले नयाँ कार्यसमिति चयन गर्नेछ । पवनले आफ्नो टिम घोषणासहित १४ वुँदै प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रजापतीको टिमबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा हिरामणि पण्डित, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला र उपमहासचिवमा शोभा गौतम छन् । कार्की अहिलेको कार्यसमितिमा उद्योग उपाध्यक्ष, आचार्य कोषाध्यक्ष, पण्डित, गौतम र बास्तोला कार्यसमिति सदस्य हुन् । पत्रकार सम्मेलनमा प्रजापतीले एक/दुई दिनमा सदस्यहरुको पनि टुंगो लाग्ने बताए । उनले नेतृत्वसहित कार्यसमिति सर्वसम्मत चयनको पक्षमा रहेको बताउँदै उम्मेदवारी दर्ता अघिसम्म प्रयासरत रहने बताए ।

२ कार्यकाल कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्षहुँदै वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेकाले नेतृत्वको लागि आफू सक्षम रहेको दाबी गरे । अध्यक्षमा उपाध्यक्ष अर्जुन पोखरेलले पत्रकार सम्मेलनमा मार्फत् यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् भने अन्य पदमा उम्मेदवारी घोषणा भएको छैन । प्रजापतीले पूर्व अध्यक्षहरुसहित भएको वार्तामा सर्वसम्मतको प्रयास भएपनि त्यसले सार्थकता नपाएपछि आफूले पत्रकार सम्मेलन मार्फत् टिम घोषणा गरेको बताए । ‘टिम घोषणा भएपनि संस्थाको हितको लागि उम्मेदवारी दिनुअघिसम्म सर्वसम्मतको प्रयास गरिने छ,’ उनले भने । उनले अध्यक्षमा निर्वाचित भएपछि पोखरा उद्योग वाणिज्य संघको विगतको विरासतलाई अझ उचो बनाउनुका साथै उद्योगी व्यावसयीको हक, हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

 

प्रकाशित मिति २०७९ भदौ ६ गते सोमबार १२:२८
हजुरको प्रतिक्रिया