काठमाडौं, १० भदौ
नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान आजदेखि सुरु गरेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो ।
अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्म जयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महततले जानकारी दिए ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढंगले अन्तक्र्रिया गर्ने अभियानको उद्देश्य रहेको उनले बताए ।
अभियान सफल बनाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेका छन् भने सात प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकताअनुरुप प्रतिनिधि खटाएका छन् ।
हरेक स्थानीय तह, वडा र टोलमा कार्यक्रम
गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिकास्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर मूलतःसम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिने पार्टी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति २०७९ भदौ १० गते शुक्रबार ०२:४८




