२०८३ साउन २१ गते बिहीबार

तिहारसम्म पोखरामा ‘स्मार्ट लाइट’ जडान गरिने

तिहारसम्म पोखरामा ‘स्मार्ट लाइट’ जडान गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ १० गते शुक्रबार ०३:५५

‘उज्यालो पोखरा’ नाम दिइएको उक्त अभियान अन्तर्गत उच्च प्रविधियुक्त १६ मिटर अग्लो हाई–मास्ट लाइट २३ वटा समेत जडान गरिने

पोखरा, १० भदौ

पोखरा महानगरले तिहार अघिसम्म १ हजार ५ सय भन्दा बढी सडक बत्ती जडान गर्ने भएको छ । महानगरले नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा ‘स्मार्ट लाइट’ राख्ने भएको हो ।

पोखरामा तिहार अघिसम्म १ हजार ५ सय ४ वटा सडक बत्ती बाल्ने गरी शुक्रबार महानगर मेयर धनराज आचार्य र प्राधिकरणका पोखरा प्रमुख प्रमोद रिजालले जिरोकिमी चोकमा शिलान्यास गरेका छन् । ‘उज्यालो पोखरा’ नाम दिइएको उक्त अभियान अन्तर्गत उच्च प्रविधियुक्त १६ मिटर अग्लो हाई–मास्ट लाइट २३ वटा समेत जडान गरिने उनले जानकारी दिए ।५०\५० प्रतिशत संयुक्त लगानीमा जडान हुन लागेको स्मार्ट लाइटको ठेक्का टप्सन इनर्जीले पाएको छ ।

महानगरका अनुसार लक्षित बत्ती जडान गर्न १२ करोड ७५ लाख रुपैंयाँमा सम्झौता भएको छ । सडकमा फिलिप्स ब्रान्डको बत्ती प्रयोग गर्ने सम्झौता भएको छ । विद्युत प्राधिकरण पोखराका प्रबन्धक प्रमोद रिजालका अनुसार पोखरामा जडान गर्न लागिएको ‘स्मार्ट लाइट’ सुरुमा ललितपुर महानगरबाट सुरु गरिएको हो । उनले प्राधिकरणले नेपालमा जडान गर्दै आएको स्मार्ट लाइट भारतको जयपुर, दिल्ली लगायत सहरमा पनि सफल प्रयोगमा आइसकेका छन् ।

‘सडक उज्यालो बनाउन सुरुमा सोलारबत्ती जोडिएको थियो । तर, त्यसले लक्ष्यअनुसार काम गर्न सकेन । चाँडै बिग्रिने र मर्मतमा पनि उस्तै खर्च गर्नुपर्ने देखियो,’ रिजालले भने, ‘सडक उज्यालो पार्ने दीगो उपाय खोज्दै जाने क्रममा यो विधि फेला पारेका हौं ।

रिजालका अनुसार पोखरामा जडान गरिने बत्ती प्राधिकरणको आइटी सर्भरमा सिधै जोडिने भएकाले कुनै बत्तीले पर्याप्त उज्यालो नदिएमा, बिग्रिएमा तत्कालै सूचना पाउन सकिन्छ । ‘सूर्यास्त पछि आफैैं बल्छ । त्यसपछि १० बजेसम्म बढी उज्यालो हुन्छ भने विस्तारै अटोमेटिक घट्दै जान्छ,’ उनले भने, ‘नबलेको, बिग्रिएको थाहा हुने भएकाले तत्काल मर्मत गर्न पनि सकिन्छ । यो साँच्चै स्मार्ट छ ।’ बत्तीमा प्रयोग गरिने फोरजी सिमले कति विद्युत खपत गर्छ भन्नेबारे पनि जानकारी राख्ने उनले सुनाए ।

रिजालले मुख्य सडक तथा चोकमा १ सय २० वटा र बाँकीमा ९० वाटको बत्ती प्रयोग गरिने जानकारी दिए । ‘अधिकांश पहिलेकै पोल प्रयोग गरिने भएकाले जम्मा ४ सय २४ वटा मात्रै नयाँ पोल थपिनेछन्,’ उनले भने, ‘मापदण्डअनुसार प्रत्येक ३० मिटरमा बत्ती राख्नुपर्छ । तर, पोखरामा ५०, ६० मिटरको दूरीमा पोल भएकाले त्यसको बीचमा मात्रै थपिनेछ ।’

प्रकाशित मिति २०७९ भदौ १० गते शुक्रबार ०३:५५
हजुरको प्रतिक्रिया