पोखरा, १६ भदौ
भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् ।
महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाइ स्नान गरेका छन् ।
हरितालिका (तीज)को व्रत एवं पूजा आजा महिला पुरुष दुबैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रीविदको भनाइ छ । रजस्वलाका समयमा छोइछुइ लगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिएकाे छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।आजदेखि तिज पर्व पनि सकिएकाे छ ।
प्रकाशित मिति २०७९ भदौ १६ गते बिहीबार ०४:०३




