पोखरा, १७ भदौ
पोखरा वडा नम्बर ४ कार्यालयले १ सय दिनमा भएका काम सार्वजनिक गरेको छ । गत वैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधले जिम्मेवारी सम्हालेको १ सय दिनमा भएका काम सार्वजनिक गरेको हो ।
वडा कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वडा नम्बर ४ अध्यक्ष देवकृष्ण पराजुलीले यो अवधिमा २३ वटा काम भएको जानकारी दिए । पराजुलीका अनुसार नवीन मावि नजिकैको सडकपेटीमा फलामको बार र नालाकोमुख र रामकृष्ण टोलमा बालधारा पूनर्निमार्ण, लक्षित वर्गका २० जनालाई क्षमता अभिवृद्धि कार्यक्रम, २ जनालाई सामग्री वितरण गरिएको छ ।
वडामा रहेको बाल विकास केन्द्रमा कार्यालय प्रयोजनका लागि दराज, फर्निचर र पिङ खरिद गरिएको, १४ वटा टोल विकास संस्था, एक मावि र एक युवा क्लबलाई खेलकुद सामग्री वितरण, ४३ जना ज्येष्ठ नागरिकको धार्मिक भ्रमण तथा ७५ वर्ष माथिका १ सय १५ जनालाई छाता वितरण, १ लाख १२ हजार ६ सय बराबरका तरकारी, फलफूल र फूलका बिरुवा वितरण गरिएको अध्यक्ष पराजुलीले बताए ।
पराजुलीले ३० जना बालबालिकालाई बाल अधिकार तथा नेतृत्व विकास सम्बन्धी तालिम, बाल क्लबलाई दराज, ह्वाइट बोर्ड, नवीन माविका कक्षा १ देखि १० सम्मका विपन्न वर्गका ६२ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ । नवीन माविकै कक्षा १ देखि १० सम्मका प्रमथ, द्वितीय र तृतीय भएका छात्र छात्रा ३० जनालाई सम्मान एवं पुरस्कार वितरण गरिएको छ ।
८ वटा आमा÷महिला समूहलाई दराज, स्पिकर, वाद्यवादन सामग्री, फर्निचर तथा भाँडा लगायत सामग्री वितरण, १८ जना य्ुवालाई बाख्रापालन तालिम दिइएको छ । वडामा रहेका धार्मिक महत्वका ४ वटा मन्दिरको रंगरोगन र सर्वेश्वर मन्दिरमा टायल विछ्याइएको, १ लाख बराबरको औषधी र ५० हजार बराबरको स्वास्थ्य सामग्री खरिद गरी सहरी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको पराजुलीले बताए ।
वडा भित्रका विभिन्न सडक ढलान, ५० जना विपन्न वर्ग, मुस्लिम, दलित तथा जनजातिका महिलाहरुलाई उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम, १९ वटा पुराना बोर्ड मर्मत गरी १४ वटा नयाँ सूचनामूलक बोर्ड पनि राखिएको छ । स्वास्थ्य स्वयम सेविका, महिला समूहका सदस्य, जनप्रतिनिधि सहभागी भएर बन्दीपुर र ल्वाङघलेलको अध्ययन अवलोकन भ्रमण समेत गरिएको छ ।
यसैबीच वडा नम्बर ४ मा रहेको हिमालय सुपर मार्केटमा सार्वजनिक शौंचालय सञ्चालनमा ल्याइएको छ । उक्त शौंचालयलाई सर्वसाधारणले निशुल्क प्रयोग गर्न पाउने गरी आज उद्घाटन गरिएको हो ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांग, ३ का अध्यक्ष प्रकाश उदास, ९ का अध्यक्ष दीपेन्द्र मर्सानी लगायतले जनताको सेवक भएर नै काम गर्नुपर्नेमा जोड दिएका थिए । वडा अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य प्रकाश कोइराला र वडा सचिव सुरेन्द्र शर्माले सञ्चालन गरेका थिए ।
प्रकाशित मिति २०७९ भदौ १७ गते शुक्रबार ११:२४




