२०८३ असोज २३ गते शुक्रबार

जाइका प्रमुख र पोखराका मेयरबीच भेटवार्ता

जाइका प्रमुख र पोखराका मेयरबीच भेटवार्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ २७ गते सोमबार ०५:३२

पोखराको खानेपानी व्यवस्थापनका लागि लाइन विस्तारको काम गरिरहेको जाइकाले करिब ८८ प्रतिशत काम सम्पन्न गरेको बताएको छ ।

पोखरा, २६ भदौ ।
जापानी सहयोग नियोग (जाइका) का प्रमुख ओकुबो अकिमित्सुसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित महानगरको प्रतिनिधि मण्डलसँग भेटघाट गरेको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटघाटमा जाइकाद्वारा सञ्चालित खानेपानी आयोजनाको हालसम्मको प्रगति र समस्याहरूको बारेमा छलफल भएको छ ।

पोखराको खानेपानी व्यवस्थापनका लागि लाइन विस्तारको काम गरिरहेको जाइकाले करिब ८८ प्रतिशत काम सम्पन्न गरेको बताएको छ । सडक विभाग अन्तरगतका सहरी सडकमा लाइन विस्तार र पस्र्याङ–सिद्धार्थचोक खण्डमा केही प्राविधिक समस्या देखिएकाले सो समस्या समाधानका लागि सम्बन्धित सरोकारवाालहरुसँग आवश्यक समन्वय गरिदिन ओकोबु नेतृत्वको टोलीले महानगरका प्रमुख आचार्यलाई आग्रह गरेको छ ।

जवाफमा प्रमुख आचार्यले ती समस्या समाधानका लागि सडक विभाग, खानेपानी संस्थान लगायतका सरोकारवालाहरुसंग यथाशीघ्र समन्वय गरी छलफलको वातावरण तयार गर्ने बताए । खानेपानीको लाइन विस्तारका क्रममा देखिएका बाधा अड्चनहरूको तत्काल समाधान गरी पोखरेलीहरूलाई शुद्ध खानेपानी वितरण गर्ने कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले सुनाए । उनले भने, ‘पोखरेलीहरूलाई शुद्ध खानेपानी खुवाउने महानगरको योजनामा जाईकाको योगदान अतुलनीय छ ।’

यस कार्यमा कुनै प्रकारको अवरोध सृजना भए तत्काल समाधानका लागि महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण गरिने प्रमुख आचार्यले बताए । भेटमा उपप्रमुख मञ्जुदेवी गुरुङलगायत पनि सहभागी थिए ।

प्रकाशित मिति २०७९ भदौ २७ गते सोमबार ०५:३२
हजुरको प्रतिक्रिया