२०८३ साउन २१ गते बिहीबार

यसरी हुँदैछ पोखरामा दसैं भित्राउने शताब्दी पुरानो टुँडिखेल मेला

यसरी हुँदैछ पोखरामा दसैं भित्राउने शताब्दी पुरानो टुँडिखेल मेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ७ गते शुक्रबार ०६:३८

विद्यालयका अनुसार दसैंको फूलपातीदेखि लाग्ने दसैं मेलामा भेडाच्यांग्राको गोठ व्यवस्थापनका लागि व्यापारीसँग निश्चित रकम लिए पनि हस्तकलाका लागि भने शुल्क लिइने छैन

‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे । पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन लिएर त्यहीँ पुग्थे । पोखराका व्यवसायीहरुले रासनदेखि लत्ता कपडासम्म बिक्रीका लागि लैजान्थे । त्यहीँबाट आवश्यकताको पूर्ती र आर्थिक बिनिमय हुन्थ्यो । अनि बल्ल पोखरामा दसैं भित्रिन्थ्यो ।’

 

राष्ट्रिय उच्च माविका प्राधानाध्यापक कृष्णलाल बास्तोला ‘उदासी’ पोखरा टुँडिखेलमा हुने ऐतिहासिक मेलाको यसरी स्मरण गर्छन् । पोखरामा दसैंको रौनक भित्राउने ऐतिहासिक टुँडिखेल मेला कहिलेदेखि सुरु भयो, ठ्याक्कै एकीन छैन । तर, सताब्दीअघि नै स्वतस्फूर्त रुपमा यो मेला हुँदै आएको स्थानीयहरु बताउँछन् ।

टुँडिखेल छाडेर हेमजा फाँट उक्लिन थालेका भेडाच्यांग्राको रौनक फेरि फर्काउने लक्ष्यसहित विद्यालय व्यवस्थापन समितिले दसैंको छेकोमा यसपल्ट पनि मेला आयोजना गर्दैछ । फूलपातीदेखि दसैंकाे भाेलिपल्टसम्म हुने मेला हुने छ ।

‘यो स्कुल २००६ मा खुलेको हो । तर, त्योभन्दा पनि यहाँ मेला लाग्थ्यो । ठ्याक्कै कहिलेदेखि भन्ने अभिलेख भेटिँदैन,’ व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी बताउँछन् ।

स्थानीयको आवश्यकता र आर्थिक बिनिमय तथा किनमेलको ऐतिहासिक टुँडिखेल मेला यसपटक पनि हुने भएको छ । राष्ट्रिय उच्च मावि पोखराको व्यवस्थापनमा फूलपातीदेखि दसैंको भोलिपल्टसम्म यो मेला सञ्चालन हुने उनले बताए ।

पहिले स्वतस्फूत रुपमा हुने यो ऐतिहासिक मेला २०७५ सालदेखि विद्यालयले व्यवस्थापन गर्न थालेको हो । त्यसअघि मेलामा हानाधान तथा गुण्डागर्दीसमेत भएर बद्नाम हुन थालेपछि व्यवस्थापनका लागि विद्यालयले नेतृत्व लिन थालेको प्रधानाध्यापक उदासीले बताए ।

‘पहिले धेरै त यहाँकै स्थानीयले भेडाच्यांग्रा लिएर बिक्रिवितरण गर्थे । अन्त पाइँदैन थियो । च्यांग्राका लागि टुँडिखेल नै पुग्नुपर्छ भन्ने थियो । यो प्राचिन हाट बजार थियो,’ प्रधानाध्यापक उदासी भन्छन्, ‘पछि टेन्डर हुन थालेपछि विकृति भित्रियो । काटमार हुन थाल्यो । मेलाको मौलिकता नै हरायो ।’

मेलामा भेडाच्यांग्रालाई व्यवस्थित गर्न गोठ पनि निर्माण गरिँदैछ । विद्यालय व्यवस्थापन समितिका सदस्य तथा मूल आयोजक समितिका संयोजक बलराम अधिकारीका अनुसार अहिले कम्तिमा १० वटा गोठ निर्माण हुनेछ । १ सय ५० जति स्टल हुने छन् । ‘आवश्यकताअनुसार गोठ थपघट हुन पनि सक्छ,’ उनले भने ।

टुँडिखेलबाट दसैंका लागि आएका भेडाच्यांग्रा विस्थापन हुनुको अर्को कारण चरण क्षेत्रको अभाव रहेको पनि अधिकारीको भनाइ छ । ‘वरिपरिका सबै चरण क्षेत्र घडेरीले प्याक भइसके । चरण क्षेत्र नै नभएपछि भेडाच्यांग्रा ल्याउने क्रम पनि विस्तारै टुट्नेक्रम बढेको हो,’ उनले भने । अहिले पोखराकै वडा नं. २५ हेम्जामा भेडाच्यांग्रा राखिने गरिन्छ ।

विद्यालयका अनुसार दसैंको फूलपातीदेखि लाग्ने दसैं मेलामा भेडाच्यांग्राको गोठ व्यवस्थापनका लागि व्यापारीसँग निश्चित रकम लिए पनि हस्तकलाका लागि भने शुल्क लिइने छैन ।

प्रकाशित मिति २०७९ असोज ७ गते शुक्रबार ०६:३८
हजुरको प्रतिक्रिया