एनआरएनए युकेमा सल्किएको विवादको आगो समझदारीले निभाउँ
गाउँका एक चल्दापूर्जा भाइलाई फोन गरेर हालखबर सोधें । उसले सुरुमै जवाफ दियो, ‘गाउँ पनि एनआरएनजस्तै छ दाइ । सबको आआफ्नै स्वार्थ छ । चुनाव आयो गाउँकै मान्छे चारतिर फर्केका छन् । दाजूभाइ लाखापाखा लागे गाउँको घर कसले बनाउने हो, कसले हेर्ने हो भन्ने विवादमै खण्डहरु बनेका छन् ।’
एनआरएनए भइ टोपलिएको म एक अभियान्तालाई ती भाइको कुराले नराम्ररी मथिंगल हल्लायो । एउटा राज्य परिषदकै किन नहोस् संस्थाको नेतृत्व गरिरहेको मलाई यसरी हल्लायो कि मानौं एनआरएनए हुँ भन्दा पनि अब नेपाली हाँस्न सक्छन् ।
धेरै नेपालीहरुले सोध्छन्, ‘तपाईं कुन गुटको ?’ म अवाक हुन्छु, साँच्चै म कुन कुटको पो हो । आज म गैरआवसिय नेपाली हुँ भनेरमात्रै सुख नपाइने परिस्थितिको सिर्जना भएको छ । आज म एनआरएनएमा आवद्ध छु भनेरमात्रै परिचयले नपुग्ने भएको छ । आज प्रत्येक गैरआवसिय नेपालीले परिचयसँगै जवाफ दिइरहनु परेको छ कि म एनआरएनए शेष घले पक्षमा छु, म चाहिँ कुल आचार्य पक्षको हो । म फलानो पार्टी निकटको । म आधारिक एनआरएनए ।
मूल उद्देश्यबाट बरालिएको, नेतृत्वको स्वार्थले ४ तिर फर्केको, पार्टीको झण्डामुनी बसेर निस्वार्थ सेवा गर्ने भावलाई कुल्चिरहेको अहिलेको गैरआवसीय नेपाली संघले मजस्ता थुप्रैलाई आज कित्ताकाट गरिरहेको छ । नेतृत्वको गुट, स्वार्थ र राजनीतिक लडाईंले मजस्ता थुप्रै एनआरएनए र गैरआवसीय नेपालीहरुको अनुहारमा हिलो छ्यापिरहेको छ । जबर्जस्ती कित्ताकाटमात्रै गरिरहेको छैन, हिजोसम्म मिलेर बसिरहेका विभिन्न देशका गैरआवसीय नेपाली संघमा पनि बिग्रह ल्याएको छ । सँगै काम गर्ने, एउटै उद्धेश्य लिएर हिँड्ने दाजुभाइबीचमै लडाईं र एकअर्कालाई बहिस्कार तथा कारबाही गर्ने परिस्थिति देखेर सायद नयाँ पुस्ताले भनिरहेका छन्, धिक्कार छ एनआरएनएहरु ।
राजनीतिक स्वार्थ, व्यक्तिगत इगो र प्रतिष्ठाका कारण कसरी सेवाभावले खुलेका संस्थाहरु पनि धारासायी हुन्छन् ? कसरी भाइभाइ फुटेर मुल घर नै ध्यस्त पार्छन् ? नेतृत्वकै कारण कसरी प्रत्येक सदस्यलाई समेत गुट समाउन बाध्य पारिन्छ र सेवा भावबाट कसरी संस्था स्वार्थभावमा बदलिन्छ ? भनेर अब अन्त हेर्न नपर्ने भएको छ, एनआरएनए हेरे पुग्छ ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, भुवन भट्ट, शेष घले तपाईंहरुलाई अहिलेको संस्था देखेर के मन पोलेको छैन ? मूल उद्धेश्य र कर्म बिर्सिएर राजनीतिक दलदलमा फसेको देख्दा के साँच्चै तपाईंहरुलाई निन्द्रा परेको छ ? पूर्व अध्यक्ष कुमार पन्तज्यू, के हामीले परिकल्पना गरेको संस्था यस्तै हो ? संस्था नै बद्नाम हुँदा के हाम्रो अनुहार सफा देखिएला कि त्यही संस्थाको बद्नामी छाँया पनि देखिएला ? पूर्वज्यूरु यो फुट र स्वार्थको राजनीति हेरेर कसरी निदाइरहन सक्नुभएको छ ? मलाई त छटपटी भइरहेको छ ।
एउटा प्रचलित भनाइ नै छ, ‘जब हावा चल्छ त्यसले बल्लतल्ल बल्दै गरेको झुपडीको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जंगलको आगोलाई झनै दन्काइदिन्छ ।’ हो अहिले एनआरएनएभित्र दन्किएको फूट र व्यक्तिगत राजनीतिको आगोले सिंगो संस्थालाई नै जलाइरहेको र नेतृत्वले आगो निभाउनुको सट्टा हातमा मट्टितेल लिएर हिँडिरहेका छन् ।
अब पनि यसरी नै हिँड्ने हो भने यसमा आवद्ध थुप्रै नेपालीहरुको आशा, भरोसालाई त्यही आगोले खरानी बनाउने छ । यसतर्फ नेतृत्वले बेलैमा नसोचे सधैंभरि हामी पनि बद्नामीको ट्याग झँड्याएर हिँड्नु पर्नेछ र नयाँ पुस्ताले भन्ने छ, ऊ आयो बिग्रिएको गैरआवसीय संघको मान्छे आयो । आआफ्नो गल्ती स्वकारेर, हिजोको बिरासत र इतिहासलाई शिरोपर गरेर अहमको व्यक्तिगत तथा राजनीतिक लडाईंबाट एक कदम पछाडि हटेर नेतृत्व र पूर्व अध्यक्षहरुले सोच्ने र पहल गर्ने हो भने अझै पनि केही बिग्रको छैन, जुट्न सकिन्छ, मूल बाटोमै हिँड्न सक्छ । नत्र नयाँ पुस्ताले सधैं धिक्कार्ने छ ।
सन् २००३ को अक्टोबर ११ देखि १४ सम्म भएको एनआरएनको पहिलो सम्मेलनको नारा थियो, ‘नेपालीका लागि नेपाली ।’ तर, आज के साँच्चै एनआरएनए नेपालीका लागि नेपाली भन्ने नाराजस्तै लक्ष्य केन्द्रित नै छ त ? यसप्रति मूल नेतृत्व र सबै देशका एनआरएनको नेतृत्व गरिरहेकाहरुले गम्भीर समीक्षा र आफैंलाई प्रश्न गर्नुपर्ने देखिएको छ ।
केन्द्रमा देखिएको राजनीतिक स्वार्थ र लडाईंको बाछिटा अब बिस्तारै सबै देशमा देखा पर्न थालेको छ । केन्द्रमा नेतृत्वले एनआरएनएमा लगाएको आगो बिस्तारै देशहरुमा फैलिन थालेको छ ।
अहिले युकेमा पनि त्यस्तै भएको छ । एनआरएनएभित्र एउटा समूहले बिद्रोह गर्दै भनेको छ, तलाईं किन कारबाही नगर्ने । अर्को समूहले भनिरहेको छ, म टिके अध्यक्ष होइन, कसैले हटाउनलाई ।
एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरविरुद्ध उपाध्यक्ष नारायण कडेंललगायत बहुमत सदस्यले प्रश्नमात्रै उठाएनन्, अविश्वास व्यक्त गर्दै कारबाहीकै तयारी गरेको बताइएको छ भने प्रेम गाहामगरले पनि संस्थामा बिग्रह ल्याउन खोजिएको, राजनीतिक स्वार्थ साँधेर गुटको राजनीति गरेको, कपोलकल्पित आरोप लगाएर बद्नाम गर्न खोजिरहेको र आफू मतदानबाट निर्वाचित भएकाले कसैले हटाउन चाहँदैमा हटाउन नसक्ने दाबी गरिरहेका छन् ।
मेरो गोरुको बाह्रै टक्का भनेझैं अहिले दुई पक्षबीच लडाईं चलिहरेको छ । यो लडाईं युकेसम्म आइपुग्नुको मुख्य सूत्राधार मुख्य नेतृत्व नै हो । मूल घरको अभिभावक कसलाई मान्ने भन्ने विवादले आज भाइ भाइमै विभाजन भइरहेको छ । मूल अभिभावकले नै राजनीति गरिरहेका छन्, घर फुटाउनका लागि । त्यसैको चर्को विवाद अहिले युकेसम्म आइपुगेको हो ।
अहिले एनआरएनए युकेभित्र विवाद र आरोपप्रत्यारोपको आगो यसरी सल्किरहेको छ, जुन आगो भित्रभित्रै चर्को रुपमा सल्किरहेको छ । गल्ती दुबै पक्षका छन् ।
सबैभन्दा ठूलो कुरा के रहेछ भने मेरा पनि गल्ती छन् भनेर एक कदम पछि हट्ने हो भने दुश्मन पनि मित्र बन्छ । अहिले युकेमा गर्नुपर्ने पनि त्यही हो । दुबै पक्षबाट गल्ती नभएका होइनन्, दुबै पक्षबाट कमजोरी नभएका होइनन् । तर, त्यसलाई एकै ठाउँमा बसेर छलफल गरेर आजको अवस्था कि आयो भनेर समीक्षा गर्ने बित्तिकै धेरै कुराहरु मिल्छन् । यसका लागि मूल नेतृत्वहरुले नै विशेष ध्यान दिनुपर्ने हो, अपसोच धेरै जनाले आगोमा तेल थपेर बसेको महसुस गरेका छन् ।
आज राज्इ परिषदहरु प्नि एउटाको पक्ष लिने अवस्थामा पुगेका छन् । म अहिले एनआरएनए इंग्ल्याण्ड राज्य परिषदको अध्यक्ष छु र म कुनै पनि पक्ष लिनेवाला छैन । बरु मेरो आग्रह छ, दुबै समूह एक कदम पछाडि हटेर समझदारी गरौं, अर्को निर्वाचनसम्म लैजाऔं । कृपया यो संस्थलाई फुटको तहसम्म नपु¥याउँ, हामीलाई ठूलो पछुतो हुने छ ।
हिजो हाम्रा अग्रजका श्रम र पसिनाले बनाएको संस्थाहरु, हाम्रो प्रतिष्ठामाथि आज प्रश्न उठिरहेको छ । विभाजन हुँदा हाम्रा मुद्धाहरु, समस्याहरु कमजोर भइरहेका छन् । हाम्रो एकता धरासायी हुँदै गइरहेको छ, आदरणीय साथीहरु यसबारेमा बेलैमा सोचिएन भने नि भोलि सन्ततीले माफ गर्ने छैनन् ।
प्रकाशित मिति २०७९ असोज ११ गते मंगलबार ०८:०२




