आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस। नेपालमा पनि ‘एक स्वास्थ्यको अवलम्बन, रेबिजबाट शून्य निधन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी रेबिज दिवस मनाइँदैछ। विश्व स्वास्थ्य संगठनको विश्वव्यापी रणनीतिक योजनाले सन् २०३० सम्ममा कुकुरको टोकाइले सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शून्यमा पुर्याउने लक्ष्य राखेको छ। रेबिज भाइरस वा रोग पशुबाट मानिसमा सर्ने रोग हो । यो रोग विशेष गरी बहुला कुकुर लगायत अन्य शकांस्पद जनावरको टोकाईबाट सर्ने रोग हो । रेबिज लागेको कुनै पनि जङ्गली जनावरहरुको सम्पर्कमा आउँदा यो भाइरस सर्वप्रथम कुकुरलाई सर्छ अनि कुकुरको टोकाई मार्फत मान्छेलाई सर्ने गर्दछ । पशुबाट मानिसमा सर्ने रोग रेबिज लागेपछि मान्छेलाई बाँच्न गाह्रो हुन्छ ।
रेबिज लागेको मान्छे तथा कुकुर बौलाउने गर्छन् । रेबिज लागेको मान्छेमा हाइड्रो फोयिबा, चिच्याउने, चिथोर्ने, रयाल चुहाउने, हात गोडा नचल्ने जस्ता लक्षणहरु देखिन्छन् । रेबिज लागेको कुकुरले भने आफ्नो पुच्छर टाँग मुनि लुकाएर हिड्नुका साथै अन्य कुकुरहरुले समेत भुक्छन् । रेबिज लागेको कुकुर मुखबाट रयाल निकाल्दै हिड्ने गर्दछन् ।
रेबिज भाइरस भएको सम्भावित जनावरले टोकेको खण्डमा तत्काल साबुन पानीले घाउ सफा गर्ने र चाँडो भन्दा चाँडो बिरामीलाई अस्पताल पुरयाई रेबिज विरुद्धको खोप लगाउनुपर्छ । साबुन उपलब्ध नभएको खण्डमा पनि घाउलाई कम्तीमा पनि १५ मिनेट धाराको सफा पानीमा सफा गर्नु आवश्यक हुन्छ । घरपालुवा कुकुरलाई नियमित खोप लगाँउदा रेबिज रोगबाट बचाउन सकिन्छ । त्यसैगरी जंगली जनावरहरु जस्तै स्याल, चमेरो, बिरालो आदि जनावरले टोकेको खण्डमा पनि तुरुन्तै रेबिज विरुद्धको खोप लगाउनुपर्छ ।
सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने बताएपनि नेपालमा अझै पनि पर्याप्त प्रयास भएका छैनन् । रेबिजलाई शून्यमा झार्नका लागि समुदायमा भएका सबै कुकुरलाई रेबिज विरुद्धको खोप लगाउनु जरुरी छ ।
प्रकाशित मिति २०७९ असोज १२ गते बुधबार ११:४४




