श्रमशोषण भएको भन्दै अहिले देशभरका स्वास्थ्य सस्थामा आबद्ध नर्सहरु आन्दोलनमा छन्। यसै क्रममा मंगलबार नर्सहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका थिए।
उनीहरुले ‘नर्स हुनुमा गर्व गर्नु कि पश्चातापरु, नर्सहरुलाई न्याय देउ सरकार, विदेश रहर कि बाध्यतारु, सेभ नर्स सेभ लाइफ,सरकार किन मौन छरु, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभुति गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।
प्रदर्शनमा आएको नर्सहरुका गुनासै–गुनासा थिए। ९ वर्षदेखि पोखरामै नर्सिङ पेशामा आवद्ध सरस्वती पुरी नर्सिङ काम अनुसार निकै न्यून पारीश्रमिक भएको सुनाउनु हुन्छ।
‘लाखौँ खर्च गरेर पढ्नु पर्ने तर काम अनुसार पारिश्रमिक नपाइने ?’ उहाँको प्रश्न छ। पुरीका अनुसार अहिले ८० हजार नर्समा आधा भन्दा बढी विदेशिन बाध्य भएका छन्।
सरकारी अस्पतालमा भन्दा पनि निजी अस्पतालहरुमा काम गर्ने नर्सहरु धेरै नै शोषित भइरहेको पुरीको भनाइ छ। यो अभियानमा विभिन्न सामाजिक संघसंस्थाहरुको समेत साथ समर्थन रहेको नर्सहरुको भनाइ छ।
निजी अस्पतालमा काम गर्ने चिकित्सकको न्यूनतम पारिश्रमिक ४० हजार र नर्सको ३० हजार तथा चिकित्सकको ५ लाख र नर्सको ३ लाख सम्मको जीवन बीमा गर्दिनुपर्ने उनीहरुको माग छ।
पछिल्ला दिनमा होम केयर नर्सको संख्या बढ्दै गएको छ। उनीहरुको पनि न्यूनतम पारीश्रमिक ३० हजार र २ लाखसम्मको जीवन बीमा हुनुपर्ने माग नर्सहरुको छ।
होम केयरका नर्सहरुलाई गर्नुपर्ने भन्दा अन्य काममा लगाइ अमानवीय व्यवहार भएको गुनासो उनीहरुको छ। त्यस्ता होम केयर राख्नेहरुको लाइसेन्स खारेज गरी १ लाख देखि ५ लाख सम्मको जरिवाना र १ वर्ष देखि ५ वर्षसम्मको कैद सजाय हुनुपर्ने माग नर्सहरुको छ।
निजी अस्पतालमा काम गर्ने नर्सहरुको कार्यअवधि हप्तामा ४८ घण्टा र करार अवधि ६ महिनाको मात्र हुनुपर्ने माग पनि उनीहरुले राखेका छन्। कारणवश जागिर छोड्नपरेमा काम गरेको अनुभव पत्र उपलब्ध गराउनुपर्ने माग छ।
आफ्ना मागहरु पूरा नभए सबै अस्पतालका चिकित्सक र नर्स आन्दोलन गर्न सडकमा ओर्लिने उनीहरुले चेतावनी दिएका छन्।
नर्स हुनुमा गर्व गर्नु कि पश्चाताप ?
प्रकाशित मिति २०७९ असोज १२ गते बुधबार ०३:०१




