२०८३ साउन २१ गते बिहीबार

गण्डकीका ३ जिल्लामा हिमपात, पर्यटकलाई सुरक्षित रहन आग्रह

गण्डकीका ३ जिल्लामा हिमपात, पर्यटकलाई सुरक्षित रहन आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २१ गते शुक्रबार ०७:५८

हिमपातले तीन जिल्लाकै हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको छ ।

हिमाल आरोहीको उद्धार गर्न हेलिकप्टर तयारी अवस्थामा

पोखरा

मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा हिमपात भइरहेको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातिदेखि हिमपात भएको बताए । हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको उनले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताए । मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा बाह्य पर्यटक रहेको उनले जानकारी दिए । हिमपात र वर्षाका कारण पहिराको जोखिम रहेकाले पर्यटकलाई सुरक्षित बस्न र यात्रा नगर्न आग्रह गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले बताए । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ ।

गोरखाको सामागाउँमा हिमपात

गोरखाको चुमनुब्री गाउँपालिकाको सामागाउँ लगायतका क्षेत्रमा हिमपात भएको छ । असोज महिनामा यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले हिमपातले मनास्लु हिमाल आरोही र आरोहीका सहयोगीलाई समस्या हुन सक्ने भएकाले सामागाउँमा तीन वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए ।

यो वर्ष अहिले सम्मकै अत्यधिक पर्यटक मनास्लु हिमाल आधार शिविरमा पुगेका छन् । गोरखा प्रहरीका अनुसार बिहीबारसम्म ३ सय ६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ ।

म्याग्दीको गुर्जामा हिमपात

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पनि हिमपात भएको छ । विगतका वर्षमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएपछि स्थानीयवासी चिन्तित भएका छन् । वर्षासँगै हिमपात भएपछि गुर्जाका लेकाली क्षेत्र सेताम्यै भएर अत्यधिक चिसो बढेपछि स्थानीयवासीलाई सास्ती भएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

धवलागिरि गाउँपालिकाका प्रवक्ता समेत रहेका उनले हिमपातले वृद्धवृद्धा, बालबालिका र पशु चौपायाँलाई सास्ती भएको बताए । विगतमा हिमपात हुँदा खुसी हुने किसान यस वर्ष भने असोजमा नै हिमपात भएकाले चिन्तित छन् । हिमपातले खेतीबालीलाई राम्रो हुने भए पनि यस वर्ष खेतीबाली लगाउने समय अगाडि नै हिमपात भएकाले किसान चिन्तित भएका हुन् । समुद्री सतहबाट तीन हजार तीन सय २० मिटर उचाइमा छ ।

प्रकाशित मिति २०७९ असोज २१ गते शुक्रबार ०७:५८

हजुरको प्रतिक्रिया