२०८३ साउन २१ गते बिहीबार

पोखराको जनप्रतिनिधिहरुको आँखा जाँच

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २७ गते बिहीबार ०९:१९

सर्वेक्षणले नै गण्डकी प्रदेशमा मोतिबिन्दुका कारण अन्धोपना भएकाहरुको सङ्ख्या ४२.६ प्रतिशत रहेको देखाएको छ ।

स्वस्थ आँखाका लागि वर्षमा एकपटक आँखा जाँच आवश्यक

पोखरा । पोखरा महानगरपालिकाका जनप्रतिनिधि बिहीबार पोखरा सभागृहमा भेटिए । यतिबेला हिमालय आँखा अस्पतालका डाक्टरहरुले जनप्रतिनिधिहरुको आँखा जाँच गरिरहेका थिए । सधैं अस्पतालमा बसेर सेवाग्राहीको आँखा जाँच्दै सोधिखोजि गर्ने डाक्टरहरु जनप्रनिधिलाई दृष्टिबारे बुझाउँदै थिए ।

सन्दर्भ थियो, विश्व दृष्टि दिवसको । ‘आँखालाई माया गरौं’ भन्ने नाराका साथ अक्टोबर १३ मा यो दिवस विश्वभर मनाइन्छ । जनताले जिताएर पठाएका जनप्रतिनिधिले नै यसबारे बुझे भने सर्वसाधारणमा पनि सचेतना बढाउन सकिने आयोजनको उद्देश्य थियो र यसको चाँजो मिलाएको हो, हिमालय आँखा अस्पताल पोखराले ।

आँखा जचाउँदै गरेकी पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङलाई पनि लागेको छ, दृष्टि जोगाउन त धेरै सजग पो हुनपर्ने रहेछ । जनप्रतिनिधिसंगै हिमालय आँखा अस्पतालमा ओप्टोमेट्री अध्ययन गरिरहेका विद्यार्थीहरुले आँखा जाँच्न सघाउँदै आँखाको स्याहारमा विशेष ध्यान आग्रह गर्दै थिए । नेत्रज्योति संघ कास्कीका अध्यक्ष, कृष्णबहादुर गुरुङले जनताको घरघरै पुग्ने जनप्रतिनिधि नै बढी सचेत भए जनतालाई पनि बुझाउन सजिलो हुने बताए ।

नेपाल नेत्रज्योति संघको पछिल्लो सर्वेक्षण अनुसार नेपालमा कुल जनसङ्ख्याको ०.२८ प्रतिशत नागरिकमा अन्धोपना छ । गण्डकी प्रदेशमा यो सङ्ख्या १ प्रतिशत छ । सर्वेक्षणले नै गण्डकी प्रदेशमा मोतिबिन्दुका कारण अन्धोपना भएकाहरुको सङ्ख्या ४२.६ प्रतिशत रहेको देखाएको छ ।

आँखा चिलाउदाँ धेरैबेर बेस्सरी मिच्ने गर्दा, पुराना आँखाको दबाई राख्दा, आँखामा चोटपटक पु¥याउँदा, आँखामा अस्वस्थ महसुस हुदाँपनि अस्पताल नजानुले मुख्य गरी आँखामा समस्या आउने र पछि अन्धोपनासम्म निम्तिने गरेको हिमालय आँखा अस्पतालका निर्देशक इलिया श्रेष्ठले बताइन् । उनले स्वस्थ आँखा राख्नका लागि वर्षमा कम्तिमा एकपटक नियमित आँखाको चेक जाँच गर्नुपर्नेमा सजग गराइन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराज आचार्य आँखाको स्वास्थ्यका लागि विशेषत् युवा पुस्ताले डिजिटल मनिटर हेर्ने समय छोट्याउनुपर्ने बताए । उनले भने, ‘युवा पुस्ताले ट्वान्टी ट्वान्टी रुल फलो गर्नु जरुरी छ । २० मिनेटसम्म फोन, ल्यापटप हेरेको छ भने त्यसपछि २० सेकेण्ड, २० मिनेट पर सम्म पुगेर आराम लिनुपर्छ ।’

पछिल्लो समय आँखाको समस्या लिएर अस्पताल पुग्नेहरुको सङ्ख्या बढ्दो छ । नेत्ररोग विशेषज्ञहरु आँखाको स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर ख्याल राख्नु उत्तिकै आवश्यक रहेको बताउँछन् । तसर्थ नियमित आँखाको चेकजाँचले मात्रै पनि आँखाको अन्धोपनाको जोखिमबाट बचाँउन सकाउँछ । डाक्टरहरु भन्छन्, बेलैमा सजग भए, आँखाको उपचार पनि हुन्छ र पछि पछुताउनु पनि पर्दैन ।

प्रकाशित मिति २०७९ असोज २७ गते बिहीबार ०९:१९
हजुरको प्रतिक्रिया