२०८३ साउन २१ गते बिहीबार

चुनावमा हराएर प्रचण्डलाई गोरखाले न्याय गर्नुपर्छः अब्दुस मियाँ (अन्तर्वार्ता)

चुनावमा हराएर प्रचण्डलाई गोरखाले न्याय गर्नुपर्छः अब्दुस मियाँ (अन्तर्वार्ता)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १ गते मंगलबार ०२:०५

‘न्याय नपाए गोरखा जानु’ भन्ने उखान प्रचलित छ । प्रचण्डलाई गोरखाले न्याय गनुपर्छ । त्यो न्याय प्रचण्डलाई राजनीतिबाट बिदा गरेर हो । त्यसो भयो भने देशलाई न्याय हुन्छ ।’

नेपाली राजनीतिका खेलाडी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी चुनावमा नेकपा एमालेका अब्दुस सलाम मियाँले चुनौती दिँदै छन् । ६६ वर्षीय प्रचण्ड र २९ वर्षीय अब्दुस गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । गोरखामा जन्मिएका अब्दुसले एमाले प्रवेश गरेलगत्तै चुनाव लड्ने मौका पाएका छन् । पछिल्लो पाँच वर्ष वैकल्पिक शक्ति निर्माणमा व्यस्त अब्दुसको लागि यो पहिलो चुनावी प्रतिस्पर्धा हो । उनी सत्तारुढ गठबन्धन निकै बलिया र एमाले निकै कमजोर मानिएको गोरखाबाट चुनावी मैदानमा छन् । 

प्रस्तुत छ, प्रचण्डसँग चुनावी मैदानमा उत्रिएका अब्दुससँग पब्लिक संवाददाता अनुप पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

 

काठमाडौँ ६ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा गर्नु भएको थियो । अहिले एमालेको उम्मेदवार भएर गोरखा आउनुुभयो । यसको अन्तर्य के हो ?

पछिल्लो केही हप्ता, महिनाहरूमा मैले केही महत्वपूर्ण राजनीतिक निर्णय लिएँ । काठमाडौँबाट म किन चुनाव लड्दैथेँ भने म जुन पार्टीमा थिएँ (विवेकशील साझा)त्यो विघटनजस्तै भयो । त्यो अवस्था आएपछि म पार्टीमा नभए पनि स्वतन्त्र भए पनि चुनाव लड््छु भन्ने एक किसिमको निर्णय थियो । त्यो तयारी पनि थियो । गोरखाबाट स्वतन्त्र रूपमा चुनाव लड्ने माहोल बनिसक्या थिएन ।

काठमाडौंमा स्वतन्त्र युवाहरूको माहोल पनि थियो । एउटा पार्टी छुटेपछि त्यतिखेर म कुनै राजनीतिक पार्टीमा सहभागी थिइनँ । त्यसकारण काठमाडौँबाट चुनाव लड्नपर्छ कि भनेर तयारी भयो । त्यो बीचमा होइन दीर्घकालिन राजनीति गर्नुपर्छ भनेर सशक्त पार्टीमा मिसिएर नेतृत्व गर्नपर्छ भन्ने राजनीतिक करियरमा नयाँ निर्णय गरेँ ।

मलाई गोरखाको नेता बन्नुपर्छ, गोरखासँग मेरो इतिहास जोडिएको छ भन्ने लाग्थ्यो । नेपाल एकीकरण गर्न हातहतियार निर्माण गर्ने वंशजको सन्तति हुँ । गोरखा र नेपालप्रतिको जुन गौरव थियो त्यो हिसाबले म गोरखाको सशक्त नेता बन्नुपर्छ भन्ने थियो । गोरखा मेरो घर महशुस हुन्थ्यो । र, कुरा ठ्याक्कै त्यस्तै गरेर मिल्यो ।

मैले एमाले प्रवेश गरेपछाडि गोरखाको स्थानीय नेतृत्वहरूले पार्टीको हेर्डक्वाटरमा अब्दुसलाई गोरखाबाट लडाउनुपर्छ भन्नुभयो । मेरो इच्छा पनि गोरखाको ग्राउण्डको पार्टीले पनि स्वागत ग¥यो । मैले पाँच वर्ष पछाडि गोरखाबाट चुनाव लड्छु भनेर सोच बनाएको थिएँ । पाँच बर्ष अगाडी नै आउनुपर्छ भन्ने महसुस भयो ।

किन पाँच वर्ष पछाडिलाई सोच्नुभएको थियो ?

यसमा मुख्यतः दुईटा कारण छन् । एउटा मैले क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुपर्नेथ्यो । त्यहाँ बाबुराम भट्टराईले लामो समयदेखि जितिरहनु भएकोले सार्वजनिक कार्य असाध्यै धेरै थियो । उहाँ आफैँले पनि चुनाव लड्नुहुन्छ भन्ने थियो । र, मेरा लागि गोरखामा राजनीति गर्ने ग्राउण्ड पनि बनिसकेको थिएन । बाबुराम भट्टराईले राजनीतिबाट रिटायर्डको कुरा गरिराख्नुभाथ्यो । अबको पाँच बर्षमा उहाँले राजनीतिक रिटायर्र्डमेन्ट लिनुहुन्छ र त्यसपछि गोरखा मेरा लागि राम्रो अवसर बन्न सक्छ भन्ने थियो । यसलाई सौभाग्य भनौँ उहाँले अहिले नै म चुनाव लड्दिनँ भनेर गोरखा खाली गरेपछि गोरखाबाट राष्ट्रिय नेतृत्व बन्न सक्ने गरी तयारी गरिरहेको अर्को मान्छे कोही पनि थिएन । गोरखामा नेतृत्वको अभाव देखियो म आउँदा परिपूर्ति हुनसक्ने महशुस भो । अहिले नै आउनका लागि उचित समय थियो र मैले नै ढिलासुस्ती गरिराथेँ कि भनेर महशुुस हुन्छ ।

 

बाबुरामले आफूभन्दा सिनियर नेतालाई त्यहाँ लगेर उठाउनुभो । बाबुरामलाई छोड्न तयार मनस्थिति प्रचण्डलाई चुनौती दिन किन तयार भयो ?

बाबुराम भट्टराइ र प्रचण्डमा खास तुलना गर्न मिल्दैन । बाबुरामलाई एक बौद्धिक नेताको रुपमा हामी चिन्छौँ । जेसुकै भए पनि गोरखाले प्रेम गर्ने नेताको रुपमा चिन्छौँ । तर, प्रचण्डको त्यो छवि छैन । गोरखामा गएर हेर्नुभो भने गोरखाले उहाँलाई स्वीकार्दैन । हुन त उहाँले गोरखामा आएर यहाँ मैले एउटा स्कुलमा अध्यापन गराउँथे त्यसैले म गोरखासँग निकट छु भन्नुभाछ । ‘तथाकथित जनयुद्ध’मा मैले गोरखाबाटै नेतृत्व गरे भन्नुभाछ । हुन त म यसलाई जनयुद्ध पनि भन्दिनँ । वास्तविकता के हो भने प्रचण्डले जुन स्कुलमा पढाउनुहुन्थ्यो त्यो स्कुलको जागिर छोडेर १० वर्ष युद्ध गरेर १७ हजार मान्छे मरिसकेपछि उहाँ प्रधानमन्त्री हुनुभयो । उहाँ प्रधानमन्त्री भइसकेपछि आज त्यही स्कुलमा गएर हेर्ने हो भने त्यो स्कुल २०÷३० वर्षअघि प्रचण्डले पढाउँदा जुन अवस्थामा थियो त्यसमा सुधार त भएको छैन ।

 

उहाँले सशस्त्र जनयुद्धको सुरुआत गोरखबाट गरेँ, योजना गोरखाबाट कोरेँ भन्नुभाछ । उहाँले सशस्त्र जनयुद्धको रेखा गोरखाबाट कोर्नुभयो भन्दैमा प्रचण्डलाई गोरखाले जिताउनुपर्ने आवश्यकता त म देख्दिनँ । उहाँले गोरखा विश्वविद्यालयको योजना कोर्नुभएको भए आज हो प्रचण्डले कस्तो राम्रो गर्नुभाको भनेर गोरखामा जिताउन सकिन्थ्यो । उहाँले गोरखामा सार्वजनिक अस्पताल खोल्नुभाको भए, बाटोघाटो पु¥याउनुभएको भए, बिजुलीबत्ती पु¥याएको भए, रोजगारी सिर्जना गरेको भए ओहो ! प्रचण्ड कस्तो गज्जब काम गर्नुभयो भनेर उहाँ गोरखाको नभएता पनि, अन्य जिल्लाबाट चुनाव लड्ने परिस्थिती नभए पनि, विभिन्न जिल्लाबाट लखेटिनु परेको भएता पनि उहाँलाई बचाउनुपर्छ गोरखाले जिताउनुपर्छ भन्ने किसिमको अपेक्षा हुन्थ्यो । तर, उहाँले केही पनि गर्नुभएन ।

 

उहाँले गोरखामा विध्वंश मच्याउनुबाहेक केही पनि गर्नुभएको छैन् । र त्यही विध्वंश मच्याउने व्यक्ति, हिजो मानव अधिकार हनन् गरेका व्यक्ति, राजनीतिको नाममा व्यक्ति हत्या गर्ने त्यही व्यक्ति आज गोरखा आएर चुनाव लड्दैछ भने गोरखाले कसरी न्याय गर्नुपर्छ ? गोरखा न्यायका लागि परिचित पनि छ । ‘न्याय नपाए गोरखा जानु’ भन्ने उखान प्रचलित छ । प्रचण्डलाई गोरखाले न्याय गनुपर्छ । त्यो न्याय प्रचण्डलाई राजनीतिबाट बिदा गरेर हो । त्यसो भयो भने देशलाई न्याय हुन्छ । पछिल्लो तीन दशकमा नेपालको राजनीति अस्थिर छ त्यसको प्रमुख कारण प्रचण्ड हो । प्रचण्डलाई छोड्नुपर्ने, जिताउनुपर्ने मेरो र गोरखाको कुनै लाभ छैन ।

 

हेभिवेट प्रचण्डविरुद्ध एमालेले ‘डमी उम्मेदवार’ उठायो भन्ने टिप्पणी सुनिन्छ । अब्दुसका लागि प्रचण्ड कस्ता प्रतिस्पर्धी हुन् ?

 

मैले मनोनयन दर्ता गराएपछि गोरखामा मलाई जुन स्वागत गरियो, जुन प्रेम मैले गोरखामा पाएँ त्यसले मेरोे अगाडिको बाटो रोचक बन्ने अपेक्षा गरेको छु । अब्दुस मियाँ एकदमै कमजोर, जीवनमा कहिल्यै चुनाव नलडेको २९ वर्षे युवा एमाले पार्टीको देशभरको सबैभन्दा युवा उम्मेदवार चुनाव लड्न जाँदैछ । त्यसकारण अहिलेको परिस्थतिका आधारमा मलाई कमजोर उम्मेदवारको रुपमा हेरिएको होला । यथार्थ के हो भने कमजोर म होइन, प्रचण्ड हुन् । कारण, उमेर हेर्ने हो भने पनि म २९ वर्षको युवा हो । हिजो २९ वर्षको उमेरमा प्रचण्डसँग जति क्षमता, आत्मविश्वास थियो मसँग त्योभन्दा बढी छ, एकरत्ति पनि कमी छैन । त्योभन्दा बढी नै होला गोरखाली भएको कारणले ।

 

क्षमताको कुरा गर्नुहुन्छ भने आजको युगको युवाको साहस र क्षमतासँग बुढ्यौली लागेका प्रचण्डले भ्याउँदैनन् । प्रचण्डले हिजोको दिनमा जे जति नरसंहार मच्याउनुभो उहाँको जेजस्तो छवि छ त्यसको आधारमा मैले त मान्छे मारेको छैन नि । त्यसकाराण म कमजोर देखिएँ होला ! मैले त बसमा बम हानेर उडाएको छैन् त्यसैले कमजोर देखिएँ होला । चौकीहरूमा बम हान्न आजसम्म निर्देशन दिएको छैन । आइडिया र भिजनमा कुरा गर्ने हो भने प्रचण्डलाई मैले सहजै हराउन सक्छु । मैले मनोनयन दर्ताको दिनमा पनि प्रचण्डलाई चुनौती गरेको छु गोरखा दरबारको प्राङ्गणमा अब्दुल भर्सेस प्रचण्डको डिबेट होस् । पछिल्लो २०/२५ वर्षको नेपालको राजनीतिबारे समिक्षा गरौँ । अबको २५ बर्षमा यो देश कहाँ पुग्छ भिजन के हो ? प्राथमिकता के हो ? बहस गरौँ । बहसको अन्तिममा म प्रष्ट पार्दिन्छु कि प्रचण्ड यो देशका लागि असान्दर्भिक भइसके ।

त्यसैले डमी उम्मेदवार प्रचण्डकै उमेरको, कम क्षमताको उम्मेदवार एमालेले बनाएको भए हुन्थ्यो । तर, पार्टीले सोच विचार गरेर ढल्दै गरेका प्रचण्डविरुद्ध उदाउँदै गरेको भविष्य युवा अब्दुुस मियाँलाई भिडाएको छ । त्यसकारण यो पार्टीको सुजबुझपूर्ण निर्णय हो ।
प्रचण्डले जिते भने प्रधानमन्त्री बन्लान् । उनी नबने पनि उनले समर्थन गरेका कोही पक्कै बन्छन् । गोरखामा उनले जित्दा बजेट ल्याएर विकासको लहर ल्याउन सक्लान् । त्यसको तुलनामा तपाईंले काम गर्न सक्नुहुन्छ त ?

प्रधानमन्त्री बन्ने प्रचण्डले हिजो कहाँ कहाँबाट जित्नुभो यसो हेरौँ त । रोल्पा जित्नुभो । रोल्पामा ह्वारह्वार्ती बजेट गएर सिंगापुर बन्यो त ? सिरहामा चुनाव जित्नुभो, प्रधानमन्त्री बन्नुभो । बजेट त्यहाँ गएर सिरहा आज बन्यो त ? चितवनबाट त उहाँ लखेटिनुपर्ने स्थिति आयो त । अनि उहाँले गोरखाबाट जितेर के हुन्छ ? केही पनि हुँदैन । हुने थियो भने त प्रचण्डको घर कहाँ हो कास्की हैन ? जन्मेको जिल्लाबाट निर्वाचन लडेर जित्न सक्छन् ? हिजो जितेको ठाउँमा फर्किएर चुनाव लड्न, जित्न सक्छन् ? त्यसकारण प्रचण्डको यो अन्तिम इनिङ हो । भाग्दैभाग्दै उहाँ आत्मसमर्पण गर्न गोरखा आउनुभएको छ ।

यो पालि गोरखाले उहाँलाई अब भाग्न नपर्ने गरेर राजनीतिबाट बिदाइ गर्छ । त्यसैले प्रचण्ड ठूलो नेता हो, प्रभावशाली नेता हो यहाँबाट जितेर प्रधानमन्त्री बनेर गोरखाको विकास हुन्छ भने भ्रम कसैलाइ छ भने त्यो भ्रमबाट जति चाँडो मुक्त भयो त्यति राम्रो हुन्छ ।

प्रचण्डले देशका लागि केही गर्न सकेनन् भने तपाईंको कुरा छ । उसो भए गोरखा बनाउने तपाईंको भिजन के छ ?

एउटा संघीय सांसदको काम देशको कानुन निर्माणमा सहभागी हुने हो । योगदान दिने हो । मैले भन्या छु युवाहरूको मुद्दालाई संसदमा उठाउने छु । त्यो भनेको आज देशमा चरम बेरोजगारी छ । नेपालमा के कसरी रोजगारी सिर्जन गर्न सकिन्छ भन्ने कहिल्यै प्राथमिकतामा पर्नै सकेन । हामीले सार्वजनिक शिक्षा, स्वास्थ्यको उपलब्धता पहुँच र गुणस्तरको कुरा गर्छौँ । तर, यो विषय संसदमा एजेन्डा नै बनेको छैन ।

हल्ला बढी काम केही गर्न नपर्नेमा नेपाली राजनीति रूमल्लिरहेको छ र प्रचण्डजस्ता मान्छेहरू त्यस्तै मुद्दा उठाएर राजनीतिमा टिकेको छन् । अब्दुस मियाँहरूले लिएर जाने एजेन्डा विश्वव्यापी न्यूनतम आयका आइडियाहरू हो । नेपालको गरिबीलाई देखाएर राजनीति गरिरहेका मध्य हुन्, प्रचण्ड । तर उहाँले प्रधानमन्त्री बनेपछि नेपालको गरिबी न्यूनिकरणमा के काम भयो त ? केही छैन किनकि उहाँसँग कुनै नयाँ आइडिया छैन । म नयाँ आइडिया लिएर जान्छु । गोरखाको कुरा गर्ने हो भने हिजो प्रचण्डका कारण अधिकांशका गोरखालीहरू सदरमुकाम, विकसित ठाउँमा ज्यान जोगाएर बस्न परेको थियो । अब्दुस मियाँहरूको नेतृत्व गोरखामा निर्माण हुँदै गर्दा गोरखामा भविष्य देख्ने वातावराण बन्ने छ । नेपाल एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् । प्रचण्ड पृथ्वीनारायणको सालिक भत्काउने मान्छे हुन् । अब्दुस मियाँ त्यो इतिहाससँग जोडिएको इतिहासलाई गर्व गर्ने मान्छे हो । मैले मेरो घोषणापत्रमा लेख्ने आठ बुदाँ र प्रचण्डले लेख्ने आठ बुदाँहरू के फरक के भिन्नता छ यो महत्वपूर्ण कुरा होइन । लेख्न त उहाँले पनि गोरखामा विकास गर्छु, बाटो बनाउँछु, बिजुली ल्याउँछु नै भन्ने होला । विगत र भविष्यको सम्भावना हेर्ने हो भने प्रचण्ड असान्दर्भिक छन् ।

 

गोरखाली हो भन्ने धेरैलाई थाहै थिएन । फेरि प्रचण्ड रोल्पा, सिरहा, चितवन हुँदै गोरखा आएका भगौडा भन्नुहुन्छ । भोलि अब्दुस मियाँ पनि अर्को ठाउँ जान्छ कि गोरखाबाट राजनीतिमा लाग्छन् ?

म गोरखासँग इतिहास जोडिएकाले गोरखाको नेतृत्व बन्न चाहन्छु । करियर बनाउने सिलसिलामा गोरखा छाडेर काठमाडौँ आउनु परेको थियो । यो सबै सकाएर काम गर्न थालेपछि गोरखा फर्किएको हो ।

बुढेसकालमा गोरखा फर्किएको होइन २९ वर्षमा फर्र्किएको हो । त्यसकारण मैले तयारी पुरा गरेर समयमै गोरखा फर्किएको हो भन्न मिल्छ । जसरी मेरो इतिहास गोरखासँग जोडिएको छ । वर्तमानमा राजनीतिक सम्भावना खोज्दै गोरखा आइपुगेको छु त्यसरी मेरो भविष्य पनि गोरखामै छ ।

 

चुनावको गणितको कुरा गर्ने हो भने तपाईं गठबन्धनभन्दा ४० हजार मतले पछाडि हुनुहुन्छ । जित्ने कसरी ?

नेपालमा दुखःद के छ भने हामी मत परिणामभन्दा अगाडि नै मान्छे मत गन्दिन्छौँ । स्थानीय निर्वाचन फरक विषय हो । स्थानीय निर्वाचनमा फरक चरित्रका फरक उम्मेदवार थिए । त्यसकारण फरक नतिजा आएको हो । संघीय निर्वाचनमा फरक चरित्रका उम्मेदवार छन् । त्यहाँ एउटा प्रचण्डको रूप छ, प्रचण्ड छवि छ । अर्को अब्दुुस मियाँको छवि छ । यो दुईटाबीच एउटा देखिसकेको, परीक्षण गरेको, जानिसकेको नेतृत्वलाई फेरि दोहो¥याउने कि भन्ने छ । अर्को नयाँ भविष्य बोकेको, सम्भावना भएको, केही गर्छु भन्ने विषय छ ।

यो उदाउँदो र अस्ताउँदोबीचको निर्वाचनको मत परिणाम हिजो भएको अर्को निर्वाचानको जस्ताको तस्तै हुन्छ भन्न मिल्दैन । आम निर्वाचनको नतिजा कसैले परिकल्पना नगरेको आउन सक्छ ।

तपाईंहरू पछिल्लो पाँच वर्ष वैकल्पिक शक्ति भनेर लाग्नुभयो । अन्त्यमा एमालेमा लाग्नुभो । नेपालमा वैकल्पिक शक्ति बनाउनै नसक्ने अवस्थामा पुगेका हौँ ?

मैलेजस्तो राजनीतिविरुद्ध आवाज उठाएको थिएँ त्यसबाट म फिर्ता भएको छैन । हिजो मैले जेलाई गलत भनेँ आज पनि त्यसलाई गलत नै भन्छु । हिजो मैले जुन राजनीति संस्कारको विरोध गरेँ आज पनि त्यसको विरोध नै गर्छु । बस् भएको म जुन राजनीतिक पार्टीमा थिएँ त्यो वैचारिक भिन्नताले तहसनहस भयो । पार्टी बनाउन नसकेको होइन बनाएका हौँ । पाँच वर्ष इमान्दारितापूर्वक पार्टीमा लागेकै हौँ । बीचमा भागेर हिँडेको थाकेको होइन । हिजो जुन राजनीतिक विचार धारामा थिएँ आज पनि त्यहीँ नै छु । प्राविधिक रूपमा पार्टी परिवर्तन भएको हो ।

प्रकाशित मिति २०७९ कात्तिक १ गते मंगलबार ०२:०५

हजुरको प्रतिक्रिया