बुटवल । प्रदेश सरकार गठनकाे लामाे समय वितिसक्दा पनि टुङ्गाेमा पुग्न नसकेकाे प्रदेश ५ काे नाम र राजधानीले टुङ्गाे पाउने भएकाे छ । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । यसअघि,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको थियाे । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् ।
दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव छ । यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने उनको प्रस्ताव छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्वबीच सहमति भए लगतै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो ।
प्रकाशित मिति २०७७ असोज १६ गते शुक्रबार ०३:५५




