पोखरा
पोखराका फेन्सी पसलमा आज अनुगमन गरिएको छ । अनुगमनका क्रममा २ फेन्सी पसल कारबाहीमा परेका छन् । पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा फेन्सी पसलमा अनुगमन गरिएको हो ।
पोखरामा खाद्यान्न, तरकारी, फलफुल होटल लगायतका क्षेत्रमा अनुगमन भएपनि फेन्सी पसलमा भने पहिलो हो । फेन्सी पसलमा ग्राहकहरु ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमन गरिएको महानगरपालिका उपोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिए । अनुगनका क्रममा व्यवसाय दर्ता विना सञ्चालन भएका, दर्ता भएपनि नवीकरण नभएको भेटिएको र खरिद बिल नभएको फेला परेको सदस्य सचिव पौडेलले बताए । अनुगमनका क्रममा पोखरा ट्रेड मलभित्र सञ्चालित दुई पसललाई जरिवाना समेत गरिएको छ ।

ग्लोजम कुर्था पसल र सुस्मिन एन्ड सुशान्त स्टोर्सलाई पाँच\पाँच हजार रुपैंयाँ जरिवाना गरिएको हो । ग्लोजमले कपडा खरिद बिल नभएको र बिना दर्ता सञ्चालन भएको भेटिएपछि जरिवाना गरिएको महानगरका सहकारी शाखाका ऋषिराम सापकोटाले जानकारी दिए । त्यस्तै सुस्मिन एन्ड सुशान्त स्टोर्सले बिल काट्दादेखि बीचमा बिल छुटाएर काटेको, व्यवसाय नवीकरण नगरेको र ग्राहकलाई समेत बिल नदिएको पाइएकाले जरिवाना गरिएको सापकोटाले जानकारी दिए ।
सलोनी इम्पोरियम, जिएलके क्लोसेट क्लाउड, एनडी सपिङ सेन्टरमा खरिद बिल नभएको, व्यवसाय दर्ता नभएको पाइएकाले उनीहरुलाई खरिद र बिक्री बिलसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले बताए । पोखराको चिप्लेढंगामा सञ्चालित युएफओमा खरिद बिल नभएको भेटिएकाले जिल्ला प्रशासन कार्यालय कास्की बोलाइएको छ । पोखरा महानगरका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले व्यवसायीले खरिद बिल नलिने र बिक्री बिल पनि नदिने गरेको भेटिएको बताइन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतमले काठमाडौबाट ल्याउने सामानको बिल कम जारी गर्ने र महंगोमा बिक्री गरेको पाइएको बताए । उनले कम बिल जारी गर्ने र महंगोमा बिक्री गर्ने समस्या सबै व्यावसायीमा देखिएकाले यस बारे छुट्टै छलफल गरेर दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने देखिएको छ ।
अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, आन्तरीक राजस्व कार्यालय पोखराका ठाकुर सुवेदी, घरेलु कार्यालय पोखराका हेमराज बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा र पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार ०४:५२




