पोखरा । अन्नपूर्ण आधारशिविर पदयात्रा अर्थात् एबीसी ट्रेक नेपालको मात्रै नभइ विश्वकै लोकप्रिय पदयात्रामध्ये एक पर्छ । नेपालमा पदयात्राका लागि सेप्टम्बरदेखि नोभेम्बरसम्मको महिनालाई उत्तम मानिन्छ ।
यतिबेला एबीसी पदयात्रामा पनि स्वदेशी तथा विदेशी पर्यटकको भिड लागेको छ । सो क्षेत्रमा रहेका होटल व्यवसाय सञ्चालकहरु भन्छन्, ‘कोभिड पछि विदेशी भन्दा स्वदेशी पर्यटकले व्यवसाय धानेको छ ।’
अहिले पदयात्रामा अधिकांश स्वदेशी पर्यटक नै भेटिने गरेका छन् । पदयात्राका सबै होटलमा प्रायः प्योकजमा दैनिक प्रतिव्यक्ति नेपाली १५ सयदेखि २ हजार रूपैयाँसम्म खर्चिनुपर्छ ।
सामान्तय यो पदयात्रा पाँचदेखि सात दिनमा पूरा गर्न सकिन्छ । हिँड्न सक्नेले यो पदयात्रा चारदेखि पाँच दिनमा गर्न सक्छन् । पोखराबाट एबीसी जानका लागि थुप्रै विकल्प छन् । तीमध्ये पोखरा–घान्द्रुक, पोखरा–वीरेठाँटी–पुनहिल, पोखरा–धम्पुस हुँदै छोमरोङ पुगेर यात्रा तय गर्न सकिन्छ । पहिलो दिन छोमरोङको यात्रापछि दोश्रो दिन दोभान र तेश्रो दिनमा एबीसी पुग्न सकिन्छ ।
अन्नपूर्ण आधारशिविरमा घामको पहिलो किरण ठोक्किँदा शिविरलाई चारैतिरबाट घेरेर बसेका सेता हिमाल सुनौलो बन्छन् । र, त्यही सुनौला हिमालको लोभलाग्दो दृश्य आफ्नो आँखाले हेर्न विश्वभरबाट बर्सेनि हजारौंको सङ्ख्यामा पर्यटक यस पदयात्रामा आउने गर्दछन् ।










तस्बीर दुर्गा रानामगर
प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार ०६:०९




