२०८३ असोज २३ गते शुक्रबार

विरासतलाई अस्वीकार गर्दिनँ, तर मेरो परिचय त्यतिमात्रै होइनः विद्या भट्टराई

विरासतलाई अस्वीकार गर्दिनँ, तर मेरो परिचय त्यतिमात्रै होइनः विद्या भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २१ गते बुधबार ११:१४

भट्टराई गत ४ मंसिरको चुनावमार्फत कास्की–२ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् ।

पोखरा । कास्की–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित विद्या भट्टराईले आफ्नो राजनीतिलाई पारिवारिक विरासतसँग मात्र जोडेर नहेर्न आग्रह गरेकी छन् ।

पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले नेतृ भट्टराईले आफू पारिवारिक जीवनबाट सामाजिक र राजनीतिक जीवनमा आइसकेकाले विरासतभन्दा पनि आफ्नो क्षमता हेरिनुपर्ने बताइन् । ‘रवीन्द्रको विरासत एउटा परिचय हो म त्यसलाई अस्वीकार गर्दिनँ । मलाई राजनीतिकर्मी, संसदको एउटा सदस्य मान्ने हो, जनताले विद्या भट्टराईलाई म्यान्डेट दिनुभएको छ,’ उनले भनिन्, ‘पारिवारिक विरासतको मेरो परिचय म गर्व गरेर स्वीकार गर्छु । तर, राजनीतिक हिसाबले मेरो पहिचान त्योमात्रै होइन ।’

अकल्पनीय घटनाले संसदमा आइपुगे पनि राजनीतिमा भने नयाँ नभएको उनको भनाइ छ । आफूले जनताको पक्षमा गरेको काम हेरेर पहिलो परिचय दिइनुपर्ने नेतृ भट्टराईले बताइन् । ‘मेरो जीवनसाथी गुमाइरहँदाको पीडासँगै संसदीय राजनीतिमा म आउने कुरा एउटा पक्ष रहन्छ । अबको मेरो पहिचान त्यो पहिलो बन्दैन भन्ने लाग्छ । मेरो पहिलो परिचय भनेको मेरो काम, मेरो व्यवहार र जनताको विश्वासलाई आँच पु¥याउने काम नगरेको आधारमा गरिनुपर्छ भन्ने ठान्छु,’ उनले भनिन् ।

संसदमा आफ्नो क्षमताले भ्याएसम्म सशक्त भूमिका निर्वाह गर्ने भट्टराईको प्रतिबद्धता छ ।

भट्टराई गत ४ मंसिरको चुनावमार्फत कास्की–२ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । श्रीमान तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २०७५ साल फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि २०७६ सालमा भएको उपनिर्वाचन जितेर उनी पहिलोपटक संसद पुगेकी थिइन् ।

प्रकाशित मिति २०७९ मंसिर २१ गते बुधबार ११:१४
हजुरको प्रतिक्रिया