२०८३ साउन २१ गते बिहीबार

कसरी बन्दैछन् सेताम्मे हिमाल कालापत्थर ?

कसरी बन्दैछन् सेताम्मे हिमाल कालापत्थर ?

विकास राेकामगर

@bikashh1997

२०७९ मंसिर २५ गते आइतबार ०१:५३

‘हेलिकप्टरले त हामीलाई बाँच्नै गाह्रो बनाइसक्यो । कति शेर्पाहरुले काम पाउनै छाडिसके । तपाईंहरुको ठाउँमा ट्याक्सीले ठाउँ पाउँदैन तर, हाम्रोमा हेलिकप्टरले आकासमै ठाउँ पाउँदैन ।’

'हिमालमा अचेल चराभन्दा बढी हेली उड्छन्'

पोखरा
विश्वको सर्वोच्च शीखर (८,८४८.८६ मि.) सगरमाथा नेपालकै सोलुखुम्बमा पर्छ । त्यही क्षेत्रबाट पहिलोपल्ट ०५० साल बैशाखमा सगरमाथाको चुचुरोमा पुगिन् र प्रथम नेपाली सगरमाथा आरोही बनिन् ।

राज्य पुनर्संचनापछि शेर्पाकै सम्मानमा उक्त पालिकाको नाम सरकारले खुम्बु पासाङल्हामु गाउँपालिका राखेको छ । त्यही पालिकाभित्र पर्छ बस्छिन्, फुरदिकी शेर्पाको घर । फुरदिकी पहिलो पटक नेपाली एकल महिलाको प्रतिनिधित्व गर्दै ०७६ जेठमा सगरमाथाको चुचुरोमा पुगेकी थिइन् ।

‘हामी पनि सक्छौं’ नारा लिएर त्यतिबेला उनी अर्की एकल महिला निमा डोमा शेर्पासँगै सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुवैजनाकै पति सगरमाथामै ज्यान गुमाएका थिए ।

‘छोरी मान्छे भएर अर्काको घर जानुपर्छ । त्यसपछि पनि कति रोएर बस्नु ? फिल्डमा जानैपर्छ भनेर हामीले आँट गरेका थियौं,’ फुरदिकी सुनिन्छिन्, ‘विधवा महिलाहरु रोएरमात्रै हुँदैन अगाडि बढ्नुपर्छ भने गयौं ।’

तिनै फुरदिकी अन्तर्राष्ट्रिय पर्वतीय दिवसको छेको पारेर नेपाल पर्वतारोहण संघ र अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालयले पोखरामा आयोजना गरेको सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा वक्ताका रुपमा सुनिइन् ।

शेर्पा ‘हिमाली वातावरण संरक्षणमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताका रुपमा पोखरा डाकिएकी थिइन् । उनीसँगै शेर्पा समुदायकी पहिलो लेखक लाक्पा फुटी शेर्पा, पर्वतीय पथ प्रदर्शक फुन्जो लामा र आरोही पूर्णिमा श्रेष्ठ सहभागी थिए । उनीहरुले हिमाली क्षेत्रमा पछिल्लो समय भइरहेको परिवर्तनबारे खुलेर बहस गरे ।

आफू एकल महिलाहरुको प्रतिनिधित्व गर्दै कीर्तिमानी आरोही बने पनि फुरदिकीको मनमा खुसी भने छैन । कारण हो, बिलाउँदै गएको हिमालको हिउँ र हराउँदै गएको हिमाली संस्कृति ।

आरोही तथा पर्वतीय पथ प्रदर्शक फुरदिकीले आफूले बालापनमा देखेको सगरमाथा र अहिले देखेको सगरमाथामा आकासपाताल फरक हुँदै गएकोमा चिन्तित सुनिइन् । उनका बुवा पहिले ‘आइसफल डाक्टर’ थिए । त्यही मेसोमा सानोमा पनि सगरमाथा आधारशिविर पुग्ने गरेकी थिइन् ।

‘पहिले पनि म बेसक्याम्प धेरै जान्थें । त्यतिबेला र अहिले त धेरै फरक हुने नै भयो,’ उनले भनिन्, ‘त्यतिखेर हाम्रा आइसफलहरु धेरै तल हुन्थे । अहिले यो हो भन्छ, त्यो हो भन्छ, केके भन्छ, ग्लोबल वार्मिङ भन्छ हिउँ पातलिँदै गयो ।’

तर, फुरदिकीको विचारमा भने खुम्बु क्षेत्रमा निरन्तर हिउँ घटिरहनुमा भने आरोही र एक्सपेन्डिचर कम्पनीकै हात छ । उनीहरुकै हेलचक््रयाइँका कारण खुम्बु क्षेत्रमा हिउँसँगै सांस्कृतिक धराप पर्दै गएको उनको आरोप छ ।

‘मेरो विचारमा भने टुरिस्ट कम्पनीकै गल्ती हो । उनीहरुले आफ्नो बेस्ट दिने हो भन्छ । तर, लक्जरियस एक्सपेन्डिचर खोज्छन् । ४ वटा टेन्ट अटाउने ठाउँमै एउटामात्रै अटाउने गरी ठूलोठूलो क्षेत्र ओगटेर बस्छ,’ फुरदिकीले भनिन्, ‘त्यो ठूलो टेन्ट लगाउन शेर्पाहरुले महिनामहिना लगाएर आइस खन्नु लाएर चौर बनाउनु लाउँछ । त्यसले आइस भास्सिँदैभास्सिँदै जान्छ ।’

२०१९ मा सगरमाथा जाँदा र यही नोभेम्बर अन्तिममा बेसक्याम्प जाँदा पनि धेरै फरक भइसकेको फुरदिकीले सुनाइन् ।

‘अहिले त झन् एभरेस्ट बेसक्याम्प चिन्नै नसक्ने भएछ । ठूलोठूलो कम्पनीहरुले त्यस्तो नगरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भनिन्, ‘हिमालमा हिउँ नहुनु भनेको त पानी नहुनुजस्तै हो ।’

हिमाल सफा गर्ने नाममा थुप्रै कार्यक्रमहरु चले पनि आफू सगरमाथा आरोहण गर्दा भने फरक पाएको फुरदिकी सुनाउँछिन् ।

आरोहीहरुले हिमाल आरोहणमात्रै सोच्ने र प्रयोग गरेको फोहोर त्यही फालिदिँदा हिमालमा झन् झन् फोहोर थुप्रिँदै गएको उनले दुखेसो पोखिन् ।

‘पिक माउन्टेन सफा गर्ने हो, सफा गर्ने हो भन्छ । खै मैले अहिलेसम्म सफा भाकोजस्तो लाग्दैलाग्दैन,’ उनी भन्छिन्, ‘हामी त पढाइलेखाइ नभाको मान्छे, पढाइलेखाइ भएको मान्छे हिमाललाई कसरी जोगाउने, हिमाल जोगियो भने हाम्रो संस्कृति जोगिन्छ भन्ने खाल्को बुझिदिए राम्रो हुन्थ्यो होलाजस्तो लाग्छ ।’

हेलिकप्टर उडानले तर्साइरहेको खुम्बु !

हिमालसँग नजिकको साइनो बनाएकी फुरदिकी हिमाली क्षेत्रमा उडान भर्ने हेलिकप्टरले विकासभन्दा बढी विनास निम्त्याएको बताउँछिन् । मान्छेले बोक्न नसक्ने सामान पनि हेलिकप्टरबाटै ओसारपसार गर्दा हिमाली जनजीवनलाई नै असर गरेको उनको भनाइ छ ।

‘लक्जरियस एक्सपेन्डिचर खोज्दा माथिमाथिसम्म पनि ठूला कम्पनीले हेलिकप्टरबाटै सामान ओसार्न थालेका छन् । मान्छेले बोक्नुनसक्ने सामान हेलिकप्टरबाटै बोकिन्छ । टेन्ट, प्लाइउड, फलाम सबै बेसक्याम्प माथिसम्मै पु¥याउन थालिसके,’ उनले भनिन् ।

आकासमा चराभन्दा बढी हेलिकप्टर उडान हुँदा आफूहरु शान्तसम्म बाँच्न पनि नपाएको फुरदिकीको गुनासो छ ।

‘हेलिकप्टरले त हामीलाई बाँच्नै गाह्रो बनाइसक्यो । कति शेर्पाहरुले काम पाउनै छाडिसके,’ दुखसो पोखिन्, ‘तपाईंहरुको ठाउँमा ट्याक्सीले ठाउँ पाउँदैन तर, हाम्रोमा हेलिकप्टरले आकासमै ठाउँ पाउँदैन ।’

हिमाली क्षेत्रमा हेलिकप्टर उडान विदेशीको नभई नेपालीहरुकै चाहना भएको फुरदिकीको भनाइ छ ।

‘आमादब्लम बेसक्याम्पमा त झन् भलिबल कोर्ट नै बनाएका छन् । हामीलाई चाहिएको खेल ग्राउन्ड होइन, बेसक्याम्प नै हो भनेर अहिलेको योङ जेनेरेसनले बुझ्नुपर्छ,’ उनले भनिन् ।

तर, आपतकालीन उद्धारका नाममा हिमाली क्षेत्रमा त्यति ठूलो संख्यामा हेलिकप्टर उडान हुनु भने नेपाली व्यवसायीकै दोष रहेको फुरदिकीको भनाइ छ । ‘विदेशीले चाह्यो भने त हिमालको टुप्पामै हेलिबाट पुगेर आउँछन् नि ! किन बेस क्याम्पसम्ममात्रै चाहियो ?’ उनको प्रश्न छ, ‘हिमाललाई मार्ने काम हामी आफैं गर्दैछौं ।’

अन्तरक्रियामा सहभागी आरोही तथा पर्वतीय पथप्रदर्शक फुन्जो लामा पनि हिमाल विस्तारै कालापत्थरमा परिणत हुँदै गएको फुरदिकीकै भनाइमा सहमति जनाइन् ।

उनले पनि पर्वत्तारोहण तथा हिमाली भेगमा पदयात्रा गर्दा पनि विलासिता खोज्दा त्यसको भार प्रकृतिले व्यहोर्नु परेको दुखेसो पोखिन् ।

‘म हिमालमा चढेरमात्रै होइन, हिमालमै हुर्केको हुनाले हिमाली भेगको थुप्रै्र परिवर्तन आफैंले देखेको छु । पहिले डिसेम्बर, जनवरीतिर हिउँ पथ्र्यो । अहिले हिउँ पर्दैन बरु अक्टुबरमै मनसुन सुरु हुन्छ,’ उनले भनिन, ‘हिमालमा पनि लक्जरियस खोज्दा नै सबै बिग्रन थालेको हो ।’

लामाले हिमालसँग खेलाँची गर्दा थुप्रै प्राकृतिक विपद् स्थानीयले नै भोग्नु परिरहेको सुनाइन् । गोरखाको दुर्गम मनास्लु क्षेत्रमा जन्मिएकी लामाले प्राकृतिक विपदकै कारण आफूहरुले थुप्रै दुख भोग्नु परेको अनुभव सुनाइन् ।

‘केही दिनअघि मनास्लुमा हिउँ पहिरो गयो । त्यो खास त्यहाँ जानेहरुले नै हिमाललाई माया नगर्दा भएको थियो,’ लामाले भनिन्, ‘आउनेहरु त हेलिबाटै गए । तर, डिजास्टरले रोकेको बाटोघाटो नखुल्दा अहिलेसम्म पनि गाउँलेले दुख पाइरहेका छन् । कसले बुझिदिने ?

सगरमाथा आरोहण गर्ने प्रथम महिला पत्रकार पुर्णिमा श्रेष्ठले पनि आफूले दोहो¥याएर चढेका हिमाल पग्लिरहेको पाएको अनुभव सुनाइन् । ‘हिमाल कालो हुँदैछन् । तर, हिमाललाई सेता बनाउने नाममा रङ पोतेरमात्रै हुँदैन रहेछ,’ उनले भनिन् ।

आरोही तथा प्रथम महिला लेखक लाक्पा फुटी शेर्पा हिमाललाई बचाउन नीतिगत तहबाटै राम्रो निर्णय हुनु पर्ने बताउँछिन् । उनले सबैले आफ्नो अधिकारमात्रै नभएर जिम्मेवारी पनि छोड्न नहुने सुनाइन् ।

‘हिमाल जोगाउन ८० प्रतिशत महिलाकै हात छ । तर, उनीहरुलाई नीतिगत निर्णय लिँदा कतै पनि सामेल बनाइँदैन । महिलाको पहिचानै राज्यले गर्न सकेको छैन,’ फुटीले भनिन्, ‘हिमाल बचाउने इस्युका नीतिगत निर्णय लिँदा महिला र त्यसमा पनि हिमालसँगै जोडिएकाहरु समेटिनुपर्छ ।’

 

प्रकाशित मिति २०७९ मंसिर २५ गते आइतबार ०१:५३
हजुरको प्रतिक्रिया