२०८३ कात्तिक ११ गते मंगलबार

पर्यटकीय गाउँ भदौरेमा भदौरे पञ्चासे महोत्सवको तयारी

पर्यटकीय गाउँ भदौरेमा भदौरे पञ्चासे महोत्सवको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ३ गते आइतबार ०९:५०

अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरादेखि ३० किलोमिटर पश्चिममा छ । पञ्चासेको काखमा रहेको सो गाउँ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो ।

पोखरा

 

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित  पर्यटकीय गाउँ भदौरेमा पुष ९ देखि ११ गते सम्म २४ औं भदौरे पञ्चासे महोत्सव हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता समेत हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगीको भूमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई सफल बनाउन आन्तरिक तयारी भइरहेको संयोजक मनबहादुर गुरुङले जानकारी दिए ।

 

आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न सांस्कृतिक कार्यक्रम राखिएको भदौरे क्लबका अध्यक्ष जीवन गुरुङले बताए । ‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउन सांस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं,’ उनले भने, ‘सुन्दर गाँउ अवलोकन गरी यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था छ ।’ स्थानीय स्तरमा उत्पादित परम्परागत प्रांगारिक खानाका परिकार तथा कोदोको परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने क्लबका अध्यक्ष गुरुङले बताए ।

 

महोत्सवको मुख्य आकर्षण फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद ३५ हजार रुपंैयाँका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।पर्यटक आवासको लागि गाउँमा होटेल तथा होमस्टेहरु सञ्चालनमा छन् । अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरादेखि ३० किलोमिटर पश्चिममा छ । पञ्चासेको काखमा रहेको सो गाउँ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो ।

 

सयौं प्रजातिका सुनाखरी पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठूलो क्षेत्र यसै गाउँमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाउँलाई चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखलाहरु देख्न सकिन्छ ।

 

प्रकाशित मिति २०७९ पुस ३ गते आइतबार ०९:५०
हजुरको प्रतिक्रिया