पोखरा
प्रत्येक ६ वर्षमा एक पटक मात्र देखाइने बाह्र भैरव नृत्य पोखरामा जारी छ । भैरव साँस्कृतिक संरक्षण समिति पोखराको आयोजनामा गत मंसिर १५ देखि सुरु भएको भैरव नृत्य अहिलेसम्म २७ वटा ठाउँमा प्रदर्शन भएको छ । । पोखराको विभिन्न टोलमा भैरव नृत्य प्रदर्शन भइरहेको समितिका अध्यक्ष तीर्थमान प्रधानांगले जानकारी दिए । भैरव नृत्य आज रामबजारमा देखाइने कार्यक्रम छ ।
२५० वर्षको लामो इतिहास बोकेको भैरव नृत्यमा १०६ जनाको कलाकार आवश्यक हुन्छ । अहिले फरक ठाउँमा फरक कलाकारहरुले नृत्य देखाइरहेका छन् । नेवारी संस्कृतिको यो नृत्यमा प्रयोग गरिने मुखुण्डो तन्त्र विधिबाट जागरण गराइने भन्ने मान्यता छ । यस नृत्यमा भैरव, महाकाली, ईन्द्रायणी, बाराही, कौमारी, विष्णुवी, ब्रम्हयणी, गंगा, गणेश, दागिनी, भूच्चा र कवाङको रुप धाराणगरि नाच्ने गरिन्छ । यसमा ३० जना गायक, १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा नृत्य कलाकार, १० स्वयमसेवक र व्यवस्थापक २० जना रहेका छन् ।
२०२९ सालअघि सम्म १२ वर्षमात्र देखाइने नृत्य लोप हुने अवस्थामा नै पुगेपछि भने अहिले ६ वर्षमा देखाउन थालिएको छ । यसैअन्तरगत भैरव नृत्यको प्रदर्शन पोखराको विभिन्न टोलमा गरिदै आएको अध्यक्ष प्रधानांगले बताए । उनले भने, ‘नृत्य हेर्न आउनेको अहिले उल्लेख्य उपस्थिति छ ।’
नेवारी भाषका भजन र आरतीको गायनसंगै विभिन्न नृत्य देखाइन्छ । भैरव नृत्य सम्पन्न हुन करिब ६ घण्टा लाग्छ । कोभिडले एक वर्ष ढिला भएका कारण पोखरामा ७ वर्षपछि अहिले भैरव नृत्य प्रदर्शन भइरहेको हो । भैरव नृत्य पोखरामा चैतको दोस्रो सातासम्म चल्नेछ ।
तस्बिरमा हेर्नुहोस् भैरव नृत्य





