दैनिक १८ घण्टा सञ्चालनमा रहने
पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ । विमानस्थलमा इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली आजदेखि लागू भएको हो । यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिने पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।
बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट आज पोखरा विमानस्थलमा अवतरण गरिसकेको छ । यति एयरलाइन्सले भोलिदेखि आइएफआर अनुसार जहाज उडान र अवतरणको तयारी गरेको छ । बिमान कम्पनीहरुको तयारी नपुगेका कारण तत्काल भने राति उडान नहुने भएको छ । मंगलबार र बुधबार आइएफआर प्राणलीको परीरक्षण गरिएको र परीक्षण सफल भएको उनको भनाइ छ । ‘राति उडानको लागि विमानस्थल आजदेखि तयारी अवस्थामा छ,’ गौतमले भने,‘राति १२ बजेसम्म उडान र अवतरण गर्न मिल्ने व्यवस्था मिलाएका छौं ।’
विमानस्थल सबै उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने उनले बताए । सूचना प्रकाशन भएको आज ४२ दिन पुगेको छ ।
अहिले दिउँसो ४ बजेसम्म भएको उडान अब राति १२ बजेसम्म हुनेछ भने यसले यात्रुलाई पनि सहज बनाउनेछ । राति उडान सुरु भएपछि आन्तरिक पर्यटकमा समेत वृद्धि हुने अपेक्षा पर्यटन व्यवसायीको छ । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सुरक्षित र सहज भएको दाबी नागरिक उड्डयन प्राधिकरणको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ । आइएफआर प्रणाली लागू हुनेभएपछि अन्तर्राष्ट्रिय बिमान कम्पनीहरुले पनि पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि चासो देखाएको क्यानको भनाइ छ ।
राति उडान गर्ने बुद्धको तयारी
बुद्ध एयरले आन्तरिक उडानमा पोखरालाई दोस्रो हब बनाएर उडान विस्तारको योजना सहित रात्रिकालीन उडानको तयारी गरेको छ । बुद्धले मार्च ९ तारिख अर्थात फागुन २५ देखि पोखराबाट राति उडान गर्ने योजना बनाएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए । उनले राति उडानको लागि ४ वटा जहाज पोखरामा रहनेछन् । उनका अनुसार बुद्धले पोखराबाट जुन÷जुन सहरमा उडान गरिरहेको छ ती सहरमा सम्भव भएसम्म रातिको समयमा उडान गर्ने तयारी छ । बुद्धले काठमाडौंसहित नेपालगञ्ज, भैरहवा र भरतपुरमा पोखराबाट उडान गरिरहेको छ ।
प्रकाशित मिति २०७९ फागुन ११ गते बिहीबार ०८:२९




