पोखरा
स्कटल्यान्डकी जोइ विरिलियम्स पदयात्रामा रमाउन पोखरा आएकी छन् । मंगलबारदेखि उनी पदयात्रामा निस्कने तालिका छ । त्योभन्दा अघि आइतबार उनी फागु पूर्णिमा अर्थात् होली पर्वमा मज्जैले रमाइन् ।
उनी नेपाल आउँदा होलीमा रमाउने योजना थिएन । पोखराले उनलाई रङसँग घुलेर आनन्दित हुने माहोल जुरायो । पोखराको लेकसाइडमा भएको होली उत्सवमा रमाएपछि उनले जीवन रंगीन भएको महशुस गरिन् । ‘एकदमै खुशी छु । यति धेरै रङहरुसँग खेल्न पाउँदा रंगीन महशुुस गरें’, उनले भनिन् । होलीमा एकअर्कासँग रंग दल्दै सद्भाव साटेपछि नेपालीपन निकै मन परेको उनले बताइन् ।

फ्रान्सका जोन लेगुले पनि सोमबार पोखरामा होली मनाए । उनले यसअगाडि भारतमा पनि होली मनाएका थिए । त्यहाँ (भारत)भन्दा बेग्लै मज्जा लिएका जोनले बताए । ‘यहाँ त्यहाँभन्दा पनि धेरै मान्छेहरु जम्मा भएर मनाउन पाइयो’, उनले भने । बन्दीपुर घुमेर पोखरा झरेका उनको पोखरा भ्रमण तेस्रो पटक हो । विश्वभरबाट आएका मान्छेसँग होली मनाउन पाउँदा उनी दंग थिए ।
पोखराको लेकसाइडमा सोमबार सबैको मुहार रंगिचंगी थिए । एकले अर्कालाई रङ दल्दै देशीविदेशी पर्यटक लेकसाइडको अम्बोटदेखि खहरेसम्म ३ किलोमिटरको दूरी रमाउँदै पैदलयात्रा गरे ।
कहिले पञ्चेबाजामा त कहिले डिजे म्युजिकको तालमा पर्यटक उफ्रिउफ्रि नाँचे । काँधमा केटाकेटी बोकेर होलीको रङमा घुलमिल हुँदै निष्फ्रिकी रमाइरहेका विदेशी पर्यटकको दृश्यले धेरैलाई छुन्थ्यो । सडकमा थरीथरीका रंगहरुसँग घुलिएर पर्यटकले बडो मस्ती गरे ।

यसै पनि होलीमा पोखरा झुम्छ, त्यसैमाथि रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले सहजीकरण गरिदिएपछि विदेशी पर्यटक पनि रङहरूमा उत्सव मनाउन एकपछि अर्काे थपिए । होली उत्सवले पोखराको लेकसाइड रंगिन बन्यो । सडकमा रंगहरु पोखिए, रंगिन पलहरु पर्यटकको दिलमा यादगार बनेर बस्यो ।
सोमबार बिहानदेखि साँझसम्म लेकसाइड रंगिन बनिरह्यो । लेकसाइडका सडकदेखि फेवाताल किनारका पार्कहरु भरिभराउ बने । एक आपसमा रंग दलेर सद्भाव बाँड्दै होली मनाए ।
संस्कृति, रितिरिवाज कुनै देश, भूगोल र सीमानाभन्दा माथि हुन्छ भन्ने उदाहरण पोखरामा देखिएको होलिको उत्सवले पुष्टि गरेको छ । रेबान पोखराले बर्सेनि लेकसाइडमा होली उत्सव गर्दै आइरहेको छ । यो वर्ष कोराना संक्रमण फैलिनुपूर्वका वर्षभन्दा केही कम पर्यटक होली उत्सवमा सहभागी भएको होली उत्सवका संयोजक वीरेन्द्र शेरचनले बताए ।

‘सहभागिता यसपालि थोरै पातालो हो कि जस्तो लाग्यो । किनभने संसारमै मन्दी भइरहेकोसँगै एक महिनाअगाडिको प्लेन क्रयासले पनि नेपालीहरुको आगमन पनि कम भयो’, उनले भने ।
होली उत्सव रेवान पोखराको नियमित कार्यक्रम हो । पर्यटकको चहलपहल बढ्न सुरु भएको समयमा आयोजना गरेको उत्सव पर्यटन क्षेत्रमा राहात पु¥याउने उनको विश्वास छ ।
पर्यटकको चहलपहल सुरु हुने बेलामा भएको होली उत्सवले पर्यटन क्षेत्रलाई राहात दिलाउने पर्यटन व्यवसायीले अपेक्षा गरेका छन् । संस्कृतिसँग जोडिएको होली पर्व पछिल्लो समय देशीविदेशी पर्यटक रमाउने उत्सव बनेको छ । यसो हुँदा पर्यटन प्रबर्द्धनसँगै संस्कृतिको विस्तार पनि भइरहेको छ । तर, होलीमा उच्छृंखल गतिविधि कम गर्दै मौलिकतामा भने ध्यान दिनुपर्ने देखिन्छ ।





