२०८३ साउन २१ गते बिहीबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममात्रै भयो, चैतभित्र कर्जा तिर्न सक्दैनौं: पोखरेली व्यवसायी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममात्रै भयो, चैतभित्र कर्जा तिर्न सक्दैनौं: पोखरेली व्यवसायी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २७ गते सोमबार ०४:३२

कर्जा तिर्ने समयसीमा बढाउँदै पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्था गर्न व्यवसायीले आग्रह गरेका छन् ।

पोखरा

पोखरा पर्यटन परिषदको नेतृत्वमा पोखरादेखि काठमाडौं पुगेका विभिन्न संघसंस्था तथा उद्योगी, व्यवसायीले संकटको दलदलबाट उतार्ने नीति अवलम्बन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् ।

बैंकको ब्याजदर एक अंकमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने, पोखराबाट अन्तराष्ट्रिय उडान थाल्न नीतिगत पहल गर्नुपर्नेदेखि पोखराको रत्न मन्दिर, हिमागृह खोल्नुपर्नेसम्मको विषयमा व्यवसायीले सोमबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरेली व्यवसायीका तर्फबाट प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दाहाललाई ज्ञापन पत्र बुझाए । पोखरा उद्योग वाणिज्य संघ, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, होटल संघ पोखरा लगायत विभिन्न संघ, संस्था तथा उद्योगी व्यवसायीले प्रधानमन्त्रीसँग अहिले ‘थाल खाऊ कि भात खाऊं’ भन्ने बिलखबन्दमा परेको गुनासो गरेका छन् ।

‘व्यवसाय चौपट छ, बैकले ताकेता गरेको ग¥यै छन्, किस्ता र ब्याज बुझाउन सकेका छैनौं,’ श्रेष्ठले प्रधानमन्त्रीसँग भने, ‘७-८ प्रतिशतको ब्याजदर आज दोब्बर वा त्यसभन्दा माथि पुगेको छ । ब्याज स्थिरै रहेका भए पनि तिर्न नसक्ने अवस्थाको व्यवसाय छ तर उल्टै ब्याज घट्नुको साटो बढेको छ ।’

कर्जा तिर्ने समयसीमा बढाउँदै पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्था गर्न व्यवसायीले आग्रह गरेका छन् । बैंक व्याजदर एकल अंकमा झार्नुपर्ने उनीहरुको भनाइ थियो । व्यवसायीले बैंक तथा वित्तीय संस्थाले पर्यटनमा अनिवार्य लगानी गर्नुपर्ने साविककै नीतिलाई ब्युँत्याउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममात्रैको नबनाउन आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री दाहालले नै जनवरी १ मा उद्घाटन गरेका थिए । ‘तपाईं आफैंले उद्घाटन गरेको विमानस्थल अहिले नाम अन्तर्राष्ट्रिय तर उडान काठमाडौंजस्तोमात्र भएको छ,’ अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए, ‘भारत, चीन, बंगलादेशलगायत देशमा तत्काल उडान थाल्न नीतिगत पहल गरिदिनुपर्यो ।’

कम्तिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नेपाल एयरलाइन्सको जहाज उडानको व्यवस्थासहित हवाइ सञ्जाल बिस्तार गर्न व्यवसायीले ध्यानाकर्षण गराए । पृथ्वी राजमार्गको पुनर्निर्माणलाई छिटो तथा व्यवस्थित बनाइदिन व्यवसायीले प्रधानमन्त्री दाहालसँग आग्रह गरे ।

मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई टिम्स र गाइड अनिवार्यको व्यवस्था अनिवार्य नगर्न प्रधानमन्त्रीलाई अनुरोध गरे । पदयात्रामा मात्रै गाइड र सहयोगी अनिवार्य गर्न र मोटर गाडी जाने ठाउँमा यो नियम व्यावहारिक नहुने व्यवसायीको भनाइ थियो । प्याराग्लाइडिङलाई अन्तराष्ट्रिय उडानलाई असर नगर्ने गरी पूर्ववत् स्थापित गर्नुपर्ने पनि व्यवसायीको माग छ ।

प्रकाशित मिति २०७९ चैत २७ गते सोमबार ०४:३२
हजुरको प्रतिक्रिया