पोखरा
संघीय सरकारका नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा हिजो मन्त्रीहरुले आज दिउँसो ३ बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गरेका थिए ।
उनीहरु तीनै जना नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका हुन् । तीन जनामध्ये स्वास्थ्यमन्त्री बस्नेत यसअघि पनि मन्त्री भइसकेका हुन् भने कांग्रेस उपसभापति गुरुङ र नेता लिम्बू पहिलो पटक मन्त्री बनेका हुन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकममल दाहाल प्रचण्डको नेतृत्वको सरकार नवौं पटक विस्तार हुँदा पनि अझै पूर्ण भएको छैन । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन कसरत गरिरहेका छन् भने जनता समाजवादी पार्टीको भागमा परेको एक मन्त्रालयमा अझै मन्त्रीको नाम पठाएको छैन । बारा २ को उपचुनावबाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादव सम्भवत मन्त्री बन्नेछन् ।
प्रकाशित मिति २०८० वैशाख २१ गते बिहीबार ०८:५०




