पोखरा
नवनियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री बनेका नेपाली कांग्रेसका तीनजना मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवाले नाम सिफरिस गरेसँगै प्रधानमन्त्री दाहालले हिजो (बुधबार) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा लिम्बूलाई नियुक्त गरेका थिए ।
गत पुस १० मा प्रधानमन्त्री बनेका दाहालले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरे पनि सरकारले पूर्णता पाएको छैन । वन तथा वातावरण र खानेपानी मन्त्रालयको जिम्मेवारी अझै प्रधानमन्त्री दाहालले आफैँसँग राखेका छन् ।
प्रकाशित मिति २०८० वैशाख २१ गते बिहीबार ०४:३६




