२०८३ असोज २४ गते शनिबार

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, मन्त्रिपरिषद् बिस्तार कहिले ?

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, मन्त्रिपरिषद् बिस्तार कहिले ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २१ गते बिहीबार ०५:०२

गत १४ गते नियुक्त भएर १५ गते सपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ ।

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् ।

गत वैशाख १४ गते नियुक्त भएर १५ गते सपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ ।

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङसहित ३५ सदस्यले सुरेन्द्रलाई विश्वासकोलमत दिए भने नेकपा एमालेका २२ सांसले विपक्षमा मत हालेका छन् । राप्रपाका २ सांसद भने तटस्थ बसे ।

पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस–माओवादीको बहुमतको सरकारको सुरेन्द्रराज मुख्यमन्त्री बनेका हुन् ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए ।

कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको दाबीका बाबजुद संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पाण्डेले सपथ लिएकै दिन नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई बिनाविभागीय मन्त्री नियुक्त गरेर ३ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका थिए ।

कांग्रेसभित्रैबाट मन्त्रीका आकांक्षी धेरै हुँदा पाण्डेले विश्वासको मत लिएरमात्र मन्त्रिपरिषद बिस्तार गर्ने योजना बनाएका छन् ।

खगराज अधिकारीले मन्त्रालयको संख्या १२ बाट ७ मा झारेपछि पाण्डेले पनि सोही संख्या कायम गर्ने घोषणा गरिसकेका छन् ।

अब कांग्रेसबाट ३ र माओवादीबाट १ मन्त्री बन्ने कांग्रेस सांसदहरूको दाबी छ ।

तर, माओवादीले ३ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरे पनि अघिल्लो सरकारमै २ मन्त्रालय पाएकाले सोही संख्यामा सीमित हुने कांग्रेसको अडान छ । एकीकृत समाजवादीका राजीव गुरूङ (दीपक मनाङे)ले पनि मन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन् ।

विश्वासको मत लिएपछि पत्रकारसँग बोल्दै मुख्यमन्त्री पाण्डेले आइतबारपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

प्रकाशित मिति २०८० वैशाख २१ गते बिहीबार ०५:०२
हजुरको प्रतिक्रिया