२०८३ असोज २४ गते शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा हंगामा, एकअर्कामा आरोप प्रत्यारोप

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा हंगामा, एकअर्कामा आरोप प्रत्यारोप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २४ गते आइतबार ०७:१८

उनले वाइडबडी काण्ड, बासबारी जग्गा घोटाला काण्ड, मातातीर्थ जग्गा काण्ड, लडाकु शिविरको घोटाला, बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको प्रवेश लगायतको विषयमा पनि छानविन गर्न प्रधानमन्त्रीलाई चुनौति दिए ।

काठमाडौं

प्रतिनिधि सभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौँ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर हंगामा मच्चियोे । बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले यस विषयमा धारणा राखेका थिए ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

आईतवार प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरु को–को हुन् भन्ने कुरा सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो । त्यस्तै उहाँले सरकारले पुनः विश्वासको मत लिनुपर्ने बताए । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री चोखो हुन नसक्ने बताए ।

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नयाँ विषय नभएको बताए । उनले एमालेले सोही विषय यस अघि नै राष्ट्रिय सभा बैठकमा उठाएको भन्दै स्मरण गराए । उनले वाइडबडी काण्ड, बासबारी जग्गा घोटाला काण्ड, मातातीर्थ जग्गा काण्ड, लडाकु शिविरको घोटाला, बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको प्रवेश लगायतको विषयमा पनि छानविन गर्न प्रधानमन्त्रीलाई चुनौति दिए ।

एमाले सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको सत्ता पक्षीय व्यक्तिहरुलाई उन्मुक्ति दिने दुषित मनशाय देखिएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले नागरिकलाई विदेशिन नागरिकता त्याग्न समेत बाध्य पार्ने राजनीतिक दलहरु भएको भन्दै शरणार्थी बन्न बाध्य पार्नेहरुलाई कारबाहीको माग गरे ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिपक्ष दलहरुलाई नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षदेखिको भ्रष्टाचार आयोग बनाएर छानबिन गर्नुपर्ने बताउनु भयो ।

बैठकको शुरुमै सांसदहरुले आफू बोल्न पाउनुपर्ने भन्दै हात उठाएपछि बैठक एकछिन प्रभावित भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक २०८० बैशाख २५ गते सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति २०८० वैशाख २४ गते आइतबार ०७:१८

हजुरको प्रतिक्रिया