पोखरा
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जननेता भण्डारीकै विचारले नै मुलुकलाई मार्गनिर्देश गरेको दाबी गरेका छन् । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा पोखरामा आयोजित कार्यक्रममा ज्ञवालीले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोगकर्ता भण्डारी भएको बताए ।
‘देशलाई अहिलेपनि मदन भण्डारीको विचारले मार्गनिर्देश गरेको छ,’उनले भने,‘ नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ बाटो देखाएको भण्डारीले हो, उहाँले निर्माण गरेको जनताको बहुदलीय जनवाद नै नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । ’
ज्ञवालीले मदन र जीवराज आश्रितले निर्माण गरेको लिगेसीलाई समाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । ‘देश र आन्दोलनमा संकट पर्दा मदन भण्डारीलाई सम्झिने गरेको स्मरण गर्दै ज्ञवालीले घाउ पुरानो भएपछि निको हुन्छ भनेपनि दासढुंगाको घाउ निको नभएको बताए ।
कार्यक्रममा नेकपा एमालेका संगठन विभाग प्रमुख तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मदन र आश्रितको मार्गनिर्देश अहिलेपनि औचित्पूर्ण रहेको बताए । उनले जनताको बहुदलीय जनवादले ब्याख्या गरेको समाजवादको लक्ष्यमा पुग्ने अभियानमा निरन्तर लाग्नुपर्ने बताए ।
नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कृष्ण थापा, गण्डकी अध्यक्ष नवराज शर्मा, एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर क्षेत्री लगायतले मदन र जीवराजको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा नेकपा एमाले पोखरा महानगर कमिटीको मुखपत्र विमोचन गरिएको थियो ।
२०५० साल जेठ २ गते पोखरामा भएको एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनमा सहभागी भएर जेठ ३ गते चितवन जाने क्रममा भण्डारी र आश्रितको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।
प्रकाशित मिति २०८० जेठ ३ गते बुधबार ०५:२९




