काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलिले नेपाललाई ढाँट र छलहरुको देश बनाइएको टिप्पणी गरेका छन् ।
काठमाडौंकाे च्यासलमा बुधबार आयोजित कार्यक्रममा उनले नेपाल ज्ञानको भूमि भएपनि, अहिले ढाँट छलफलहरुको भूमि बनाइएको टिप्पणी गरेका हुन् ।
‘ज्ञानको भुमिलाई अहिले अज्ञानता, अराजकता र सभ्यता नभएको भुमि , ढाँट छलहरुको राज भएको भुमि बनाईएको छ ।’ उनले भने ‘यो त हामीले र हाम्रो सन्तानले भोग्नु पर्छ । युवाहरुले धेरै भोग्नुपर्छ । भोली अर्को पुस्ताले भोग्दै जानुपर्छ।’
नियतबस नराम्रो काम गर्नेहरुका कारण मुलुक समस्यामा परेको टिप्पणी गरेका उनले आफूले नराम्रो गर्ने र अरुलाई पनि नराम्रो बनाउने काम भइरहेको बताए । उनले भने ‘थाहा पाएर उल्टो काम गर्नेहरुले अरुलाई नराम्रो बनाउने मात्र गर्छ । भ्रष्टचार नगर्ने कुरा होईन, नगर्ने भन्ने कुरा हो भन्ने ठान्छ । भ्रष्टाचार गर्ने तर गर्न हुँदैन् भन्ने त्यो ठान्छन् । यस्ता व्यक्तिले अनेक बाहाना खोजिरहेका हुन्छन् ।
उनले खराब नेतृत्वकै कारण देशभक्तिमा समेत विचलन देखिएको बताए ।
‘यस्ता व्यक्ति राज्य सत्तासंचालनका महत्वपुर्ण ठाउँमा बसेकाहरु एकथोक भन्ने अर्कोथोक गर्नेहरु सबैभन्दा खतरनाक हुन्छन् । देश त्यसैगरी विग्रिन्दै छ । विद्यालयमा देश भक्ति पढाईन्छ तर हाम्रो देशमा अरु देशको भक्ति पढाईन्छ ।’
प्रकाशित मिति २०८० जेठ १७ गते बुधबार ०५:१६




