ताते–ताते गराउँदै समयले कलिला पैतालाहरुलाई कहाँसम्म पु¥याउँछ कहिल्यै सोचिएन । सोच्नु पनि कसरी ! सोच्दैमा भेटिने कुरा भए पो समय । भेटिइहाल्यो भने पनि समय हामीसंगै उभिएर कहाँ बस्छ र ?
सोचेर नगरेका, समयको रहमा पौडिँदा अनायास भेटिएका कुराहरु खै कसरी यो मनमा बसे ? सोचेर गरेका कुराहरु दिमागमा बसेझै । बालकहरु आफ्नो बालसुलभतामा अनेक हर्कत गर्छन । उमेरका मानिसहरुले झै योजना र लामो सोचमा गर्छन जस्तो पनि लाग्दैन, तै पनि बालकहरु बडो उत्साहका साथ धुमधाम रमाइलो गर्छन ।
हरेक मानिसँंग एउटा प्रिय बाल्यकाल हुन्छ । बाल्यकालका यादहरु हुन्छन । हरेक मानिस उमेरको सिँढी उक्लदै गर्दा थाक्यो भने फर्केर पुग्ने उहि बाल्यकालको चौतारो न हो । किन किन मलाई आज उहि चौतारो पुग्न मन लागेको छ । आफ्नै अतितको एउटा खुत्रुके फोर्न मन लागेको छ ।
‘ए केटा हो ! हेर्छौ कालो बाद्दे ढुङ्गा ?’ नवराजले आफ्नो गोजि देखाउँदै भनेको थियो । मुट्ठी बाहिर थोरै निस्केको नवराजको गोजिभित्र के थियो हेर्न त पाइएन । तर, केहि त थियो । ऊ सोध्थ्यो तर गोजिभित्रको बाद्दे ढुङ्गा देखाउँदैनथ्यो । धेरै दिनसम्म हामी सबै केटाहरु उसैको पछि लागिरहयौ, नवराजलाई सोधिरह्यौ । हामीले नसुनेको, पहिले नदेखेको त्यस्तो बाद्दे ढुङ्गा कहाँ पाईएला भन्ने सधैं लागिरह्यो । उस्ले त्यो कालो बाद्दे ढुङ्गा कहाँबाट ल्यायो, कस्ले दियो । हामीलाई देखाईसकेपछि फेरि कहाँ लुकायो ? त्यो नवराजले हामीलाई कहिल्यै भनेन । अब शायद उसले कहिल्यै फेरि त्यो बाद्दे ढुङ्गा हेर्छौ केटा हो ? भनेर भन्दैन होला पनि.. । हामीलाई कहिल्यै नदेखाएको त्यो बाद्दे ढुङ्गा समयक्रममा उसले अरु कसैलाई देखायो कि देखाएन होला ? अचेल पनि नवराजको सम्झनासंगै समयको उहि गोजिभित्र उसको त्यो बाद्दे ढुङ्गासँगै जोडिएर आउँछ ।
हिजोआज नवलपुरमा बसिरहेको नवराजसँग लामो समय भैसक्यो सम्पर्क नभएको, स्कुल पढ्दाको समय खुब चकचक गनर्,े जिस्कने नवराज हिजोआज पहिले जस्तो गर्दैन होला ! समयले अनेकन ढुङ्गाको प्रहार उसैमाथि ग¥यो होला ! अरु ढुङ्गाको प्रहार खेप्दा खेप्दा ऊ स्वयंले भुल्यो होला उसको बाल्यकालको त्यो बाद्दे ढुङ्गाको प्रसङ्ग । के कसैको स्मृतिलाई कसैले चोर्न सम्भब छ ? तर लाग्छ नवराज सधै उस्तै भैदेओस् । उसैगरि आइदेओस र भनोस् ‘ ए केटा हो ! हेर्छौ कालो बाद्दे ढुङ्गा ?
सरकारी स्कुलमा १ बजे हाफ छुट्टि भएपछि बिधार्थीहरु आफ्नो मर्जीका मालिक हुन्छन् । जता मन लाग्छ उतै जान्छन् । गच्छे अनुसार मन लागेको खान्छन । हामी खाजामा प्रायः गोल र मोल मिलाएर चाउचाउ खान्थ्यौ । कि, गोलमोल चाउचाउ कि त घरबाट खाजा खान भनेर दिइएको ३ रुपैँयाको ५ पिस भेज मःमः । खाजा खाँदैगर्दा भनेको थियो खेमेले ‘ए केटा हो भोली जाउँ हिड बट्टाई छोप्न’ । बट्टाइ के सुनेका थियौ हनुमान झै बनेर हिँडेका थियौ हामी उस्को पछिपछि ।
भोलीपल्ट खेमेले हामी सबै केटाहरुलाइ हाफ छुट्टिमा बोलाएर बट्टाई छोप्न लिएर गयो । केटाहरुमध्ये सबै भन्दा बढि उत्सुक मलाई ठानेकोे खेमेले मलाई नै समात्यो र भन्यो– ‘तेरो सर्ट खोल त, उ त्यो चौर मुनि बट्टाईको गुँड छ त्यहाँ बस्छन् बट्टाईहरु, तेरो सर्टले त्यो प्वाल छोपौँ ।’ पहिलो पटक बट्टाईको नाम सुनेको म सरासर सर्ट खोलेर दिए, मेरो सर्ट फर्कदा बट्टाई लिएर फर्केन । चौरभरिको कुरो लिएर फक्र्यो । एउटा बट्टाई छोप्न गएको सर्टले चौरभरिका हजारौ बट्टाई बोकेर आयो । अरु त हाँसे, म भने हाँस्न र रुन एकैपटक विर्सेको मान्छेजस्तो भएँ ।
मेरो बाल्यकालको स्मृतिमा सर्वाधिक धेरै पाईलाहरु टिकाराम र खेमेका भेटिन्छन । पातलो शरिरको खेमे, गोरो अनुहार, चिम्सो आँखा, थेप्चो नाक । खैरो–खैरो कपाल भएकोले हामी उसलाई खैरे भन्थ्याँै । झट्ट हेर्दा खैरेको बच्चा जस्तै त थ्यो खेमे । चकचकेको महाराज । दिमाग धेरै चलाउने भएपनि पढाईमा खासै राम्रो भने थिएन । तर कसोकसो बिज्ञान विषयका कैयांै प्रयोगहरु उसले सुत्र थाहा नभैकन पनि बाल्यकालमा नै गरेर देखाएको थियो ।
स्मृतिको पाठशालामा खेमे नै यस्तो एउटा होमवर्क थियो । जसलाई म पछ्याउँथे । जसलाई देखेपछि केहि त मैलेपनि गर्नुपर्छ भन्ने लाग्थ्यो । मलाई चाउचाउको लत लगाउने खेमे थियो । अझ भनौ, मलाई चाउचाउको लत लाग्दा बाँडेर खाने साथी खेमे थियो । चाउचाउकै कारण जन्डिस लागेको भन्ठानेर मेरो घरमा म पछि सबैभन्दा धेरै गाली खाने साथीपनि खेमे नै थियो ।
हिजोआज राधिका जापान भएको सुनेको छु । उसलाई हामी स्कुल पढ्दाका दिनहरु याद आउँछन् कि आँउदैनन् होला ! हामी ६ र ७ कक्षा तिर पढ्दा ताका होला भुवन केसी अभिनित फिल्म नेपाली बाबु आएकोथ्यो । त्यो ताका खुब चल्यो त्यो फिल्म । फिल्ममा भएको ‘पशुपतिमा चार ढोका चाँदीका कृष्णजीलाई मन पर्ने राधिका’ भन्ने बोलको गित पनि खुब चल्यो उनताका त्यो गितमा तिहारमा ननाँच्ने कमै होलान । त्यो बेला मेरा साथीहरु सञ्जय, नबिन, अञ्जितले मलाई जिस्क्याउने माध्यम बनेको थियो त्यहि गित । अझ अन्जित र मेरो बिचको झगडाको कारणसमेत बन्यो उही गित । ‘पशुपतिमा चार ढोका चाँदीका कृष्णजीलाई मन पर्ने राधिका’ । अञ्जित र म लामो समय बोल्दापनि बोलेनौ ।
जिन्दगी अहिले पनि बारम्बार नोस्टाल्जिक बन्छ । हाँस्ने बहाना खोज्नुपर्दा सभ्झन्छु उही कालो बाद्दे ढुङ्गा र बट्टाई छोप्न जाने उत्साह । अनायास मेरा ओठहरु थोरै मुस्कुराएको पाउँछु । सोच्छु, म फर्किउँ उहि बाल्यकालमा । जहाँ शानले मैले पनि भन्न सकुँ कि म सँग पनि छ त्यस्तो बाद्दे ढुङ्गा । एक्लै पुगेर जिवितै छोप्न सकँु बट्टाइ र खेमेलाई भन्न सकँु कि हेर त खेमे मैले आफैले आज बट्टाई छोपेर लिएर आएको छु । यो चौरमा भएको बट्टाई होइन । यो त म संग मेरो प्रेम र मेहनतले आईपुगेको बट्टाई हो । जसका लागि मैले समयको लामो रिक्ततामा स्मृतीदंशको अनेक बुर्हातन सहेको छु ।
सोच्छु, एक जीवन नबराजको त्यहि बाद्दे ढुङ्गा र खेमेको बट्टाई बदमासीसंग फेरि जिउन पाए !
‘पशुपतिमा चार ढोका चाँदीका कृष्णजीलाई मन पर्ने राधिका ।’ यहि गीत सुनेर फेरि एक युग लाजले रातो पिएर भएर बाँच्ने मन छ ।
तुलसी म्याडमकोे पिटाई भेटेर सुध्रिएको मेरो गणितको पढाईजस्तै मेरो जिन्दगीको गणित सुर्धानका लागी मेरै बाल्यकालबाट फर्केर फेरि कोहि आईदिए । पिटाइको डरले हिसाब सुधारेझै जिन्दगी सुधार्न देखाउने डर कतै भेटिए ! जिन्दगीको आ–आफ्नै कविता लेख्न आज कता कता पुगेका ती साथीहरु दिनहुँ भेटिने स्कुलजस्तै अर्को स्कुल कुन होला ? कहाँ होला ? बाल्यकालका अनेक उटपटाङ्ग र चकचक लगेर सवैले कहाँ बिसाए हुनन् ?
यी सवै सवै चिजहरु खोजेर फेरि एकपटक फर्कन मन छ उही बाल्यकालमा । जिम्मेवारी र उत्तरदायित्वका अनेक सिर्कनाहरुले हानिरहन्छ मेरो बर्तमानलाई । पैसा कमाउने मेसिन बन्ने आदेश दिएको छ यो समयले । अनेक मान्छे बाँच्न अभिसप्त छु आफैभित्र । बेलाबखत फोर्न मन लाग्छ यादहरुको खुत्रुके । तर, समयको यो तातो तावाले अनेक बाध्यताहरुको बाफ छोडिरहन्छ । हिजोआज यसैको उकुसमुकुस छु । ए ! मेरो बाल्यकालका अनेकौ यादहरु हो ? के तिमिहरु अझै उस्तै छौ ?
प्रकाशित मिति २०७७ कात्तिक २३ गते आइतबार ०४:३२




