पोखरा, असार ७ ।
विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा पोखरामा रक्तदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानद्वारा आयोजित १५औँ खुला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पहिलो रक्तदाता तथा प्रतिष्ठान कास्की शाखाका अध्यक्ष परशुराम अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङले संगीत र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन् । उनले कलाकारहरू समाजप्रति उत्तरदायी रहेको सन्देश दिन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
रक्तदानसँगै आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरु माया गुरुङ ,रामजी पौडेल, सीता परियार, शिव शर्मा, विष्णु पराजुली, दिलु मगर लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए । प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष रामजी पौडेलका अनुसार कार्यक्रमले विश्व संगीत दिवसको महत्वलाई थप उजागर गर्नुका साथै कलाकारहरूबीच आपसी सद्भाव र एकता पनि अभिवृद्धि गरेको छ ।
कार्यक्रममा लोकदोहोरी क्षेत्रका अग्रज कलाकारहरू प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, सीता केसी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८३ असार ७ गते आइतबार ०१:५५




