पोखरा
कास्कीको माछापुच्छ्रे गाउँपालिका ९, काप्रे भीरमा आइतबार र सोमबार भीर मौरीको मह काढिएको छ । माछापुच्छ्रे गाउँपालिका र स्थानीय युवा क्लबको संयुक्त संयोजनमा भीरमौरीको मह काढिएको हो ।
पोखरादेखि करिब २५ किलो मिटर टाढाको दूरीमा रहेको काप्रेभीर पुग्न सकिन्छ । उक्त भीरबाट मह निकाल्न थालिएको लामो इतिहास रहेको स्थानीय बताउँछन् ।
अघिल्लो वर्षसम्म अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को अनुमतिमा मात्रै निकाल्ने भए पनि यही वर्षदेखि वडाले नै अगुवाइ लिएको हो ।
काप्रेभीरमा मह निकाल्ने काम ६६ वर्षीय उमानाथ गौतमले गरेका छन् । करिब गौतम करिब ३५ वर्षदेखि यसरी मह निकाल्ने काम गर्दै आएका छन् ।
अहिले उनलाई ३६ वर्षीय छोरा चिमलाल गौतमले साथ दिन थालेका छन् ।
पोखरादेखि करिक २५ किलोमिटर दूरीमै भीरमौरी चाका (घार) हेर्न पाइने भएकाले पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले नै सुरुआत गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्री बताउँछन् । भीरमौरीलाई पर्यटनसँग जोडेर पालिकाको आर्थिक आम्दानीमा जोड्न आफू लागिरहेको उनको भनाइ छ ।
‘यो एकदक एड्भेन्चर काम पनि हो । साहसिकसँगै जोखिम पनि उत्तिकै छ । यो एउटा हाम्रो परम्परा पनि हो,’ क्षेत्री भन्छन्, ‘मर्दी हिमाल रुटमै पर्ने भएकाले यसलाई राष्ट्रियस्तरमै चिनाउन पनि पालिकाले अगुवाइ गरेको हो ।’











