२०८३ कात्तिक ११ गते मंगलबार

चीनको छेन्दुबाट उड्यो पोखरा आउने सिचुवान एयरको विमान

चीनको छेन्दुबाट उड्यो पोखरा आउने सिचुवान एयरको विमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ६ गते बुधबार ०७:१२

चीन सरकारको सहुलियतपूर्ण ऋणमा बनेको विमानस्थलमा पहिलो  अन्तर्राष्ट्रिय उडान पनि चीनबाट नै भएको छ ।

पोखरा

पोखरा  विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । गत पुस १७ गते सञ्चालनमा आएको विमानस्थलमा चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय चार्टर आज हुन लागेको हो ।

नेपाली समय अनुसार बिहान ६ बजेर ९ मिनेटमा छेन्दुबाट उडेको सिचुवान एयरको विमान आज बिहान करिब साढे नौ बजे पोखरा विमानस्थलमा अवतरण गर्नेछ । छेन्दुदेखि पोखराको उडान करिब ३ घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । चीन सरकारको सहुलियतपूर्ण ऋणमा बनेको विमानस्थलमा पहिलो  अन्तर्राष्ट्रिय उडान पनि चिनबाट नै भएको छ ।

दक्षिण एसियामै पहिलो पटक पोखरामा आयोजना गरिएको नेपाल–चीन फ्रन्डसिप ड्रागन बोट फेस्टिभलमा सहभागी हुने चिनिया पर्यटक तथा खेलाडीहरुलाई सिचुवान एयरको विमानले चार्टर उडानबाट पोखरा लिएर आउँदैछ । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनिया दु्तावासको सहकार्यमा असार ८ र ९ गते ड्रागन बोट फेस्टिभल पोखरामा हुँदैछ । ५० भन्दा बढी मुलुकमा यो फेस्टिभल हुँदै आएको छ ।

विमान उत्तरतिरको हवाई रुटबाट संखुवासभा छिरेर काठमाडौंको आकाशहुँदै पोखरा आउनेछ । चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जना यात्रुसँगै विमान पोखरा विमानस्थलमा अवतरण गर्नेछ । अध्यक्ष तिमिल्सेना, ७ सांसदसहित ९ जना गत जेठ २७ गते काठमाडौंबाट चीन भ्रमणमा गएका थिए । सिचुवान एयरको विमान पोखरामा एक घण्टा होल्ड भएर काठमाडौं प्रस्थान गर्नेछ भने त्रिभुवन विमानस्थलमा अवतरण भई नियमित उडानमार्फत् चीनको छेन्दु फर्किनेछ ।

चीनबाट हुने अन्तर्राष्ट्रिय उडानले पोखरामा पर्यटक बढ्ने पर्यटन व्यवसायीको भनाइ छ । जनवरी १ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलबाट बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायु सेवाले आन्तरिक उडान भर्दै आएका छन् । पोखरामा अहिले रात्रिकालीन उडान पनि भइरहेको छ । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयरले भारतका ३ गन्तव्य पोखरा–बनारस, पोखरा–दिल्ली र पोखरा–देहरादुन उडान गर्ने योजना बनाएपनि भारतले पोखराबाट एयर रुट र एयर स्पेस नदिँदा बुद्धको योजना अलपत्र परेको छ ।

चीन सरकाररको लगानीमा बनेको पोखराबाट एयर रुट दिन भारतले आनाकानी गर्दै आएको छ भने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला यो विषयले चर्चा पाएपनि त्यसमा ठोस निर्णय हुन सकेको छैन । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कोरियन एयर, बिज एयर, हिमालय, नेपाल एयरलाइन्स पनि चासो देखाएको प्रधिकरणको भनाइ छ । पोखरामा विमानस्थलमा १ सय ८० जना यात्रु बोक्ने एयर बस ३२० र बोइङ ७५७ ले उडान र अवतरण गर्न सक्नेछन् ।

प्रकाशित मिति २०८० असार ६ गते बुधबार ०७:१२
हजुरको प्रतिक्रिया