अभिव्यक्तिमा आफ्नो कमजोरी स्वीकार
पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गरेपछि उनले सोमबार स्पष्टीकरण दिएका हुन् । प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर उनले आफूले दिएको अभिव्यक्तिको सन्दर्भ बताए ।
आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको प्रचण्डले बताए । त्यसक्रममा सरदार सिंहले प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भनेको भन्दै उनले भने, ‘उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन ।’
प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नुपर्ने स्वीकार गरेका उनले स्वभावजन्य भावुकताका लागि आत्मसमीक्षा गरेको समेत उनले बताएका छन् । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सोमबार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीचको सहमतिपछि संसद खुलेपछि प्रधानमन्त्रीले स्पष्टीकरण दिएका हुन् ।
प्रकाशित मिति २०८० असार २५ गते सोमबार ०६:१७




