२०८३ असोज २४ गते शनिबार

स्याङ्जा अस्पतालमा दरबन्दीको समस्या: १६ जनाको करार अवधि आज सकिँदै

स्याङ्जा अस्पतालमा दरबन्दीको समस्या: १६ जनाको करार अवधि आज सकिँदै

युवराज पौडेल

@Public 4K Tv

२०८० साउन १ गते सोमबार ०३:४३

साउन १ गतेबाट ती १६ जनशक्तिको भविष्य समेत अन्योलमा परेको छ ।

स्याङ्जा

गण्डकी प्रदेश सरकारले करारमा नियुक्त गरेका १६ अस्थायी करार दरबन्दीको म्याद सोमबारदेखि सकिन लागेपछि जिल्ला अस्पताल स्याङ्जामा कर्मचारीको अभाव हुने भएको छ ।

गत वर्ष गण्डकी सरकारले अस्थायी करार दरबन्दीका विभिन्न तहका प्राविधिक जनशक्तिलाई १ वर्षका लागि नियुक्ति गरेको थियो । निक साइमन इन्सिच्युट, गण्डकी प्रदेश, अस्पताल सञ्चालक समितिबाट अस्थायी तथा करार दरबन्दीमा मेडिकल अधिकृतदेखि विभिन्न वार्डमा काम गर्ने प्राविधिकहरु छन् ।

स्थायी दरबन्दी २४ जना रहेको अस्पतालमा जम्मा ३ स्थायी डाक्टरको दरबन्दी छ । तर तीनै जना डाक्टर अहिले सेवामा छैनन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यको जिल्ला अस्पताल लमजुङमा सरुवा भएपछि करिब ६ महिनादेखि अस्पताल प्रमुखविहिन छ । उनीबाहेक दुई जना स्थायी डाक्टर मेडिकल अधिकृत डा. शुसीलकुमार मरासिनी र डा.अञ्जु अर्याल अध्ययन बिदामा छन् ।

अस्पतालका प्रमुख आचार्यको ठाउँमा नयाँ डाक्टर नपठाइएकाले अहिले स्थायी दरबन्दीमध्येबाट वरिष्ठ नर्सिङ अधिकृत कृष्णकुमारी कार्कीले निमित्त प्रमुखको रुपमा काम गर्दै आएकी छन् । यी बाहेक अन्य ९ जना डाक्टर अस्थायी तथा करार दरबन्दीमा रहेका छन् । यीमध्ये पनि ७ जना छात्रवृत्ति करारमा छन् । प्रदेश सरकारबाट नियुक्ति गरिएका डा. अमृत त्रिपाठीको भोलिबाट म्याद सकिँदै छ ।  मेडिकल अधिकृत डा. शैलिका श्रेष्ठ निक साइमन इन्स्टिच्युटबाट र अर्का मेडिकल अधिकृत डा. सचिन रानाभाट एसएनसियु कार्यक्रम अन्तर्गत नियुक्त डाक्टर हुन् ।

अस्पतालमा आजबाट रिक्त हुने १६ दरबन्दीको काम कसरी व्यवस्थापन गर्ने चुनौती रहको अस्पतालकी निमित्त प्रमुख कृष्णकुमारी कार्कीको दुःखेसो छ । खालि दरबन्दीमा डाक्टर तथा अन्य स्टाफको काम नहुँदा अस्पताल चलाउन निकै गाह्रो भएको उनको भनाइ छ । स्याङ्जा अस्पतालमा सबै किसिमको गरी जम्मा ७८ जना कर्मचारी रहेको  रहेको चिरञ्जिवी खनालले बताए ।

गण्डकी प्रदेश सभामा यस क्षेत्रका प्रदेश सांसद सुधीरकुमार पौडेलले स्याङ्जा अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टको सरुवा भएर गएपछि उक्त पद खालि रहेको भन्दै थुप्रै डाक्टर र नर्सहरु अध्ययन विदामा गएको भन्दै जनशक्तिको अभाव भएको विषयको संसदमा ध्यानाकर्षण समेत गराएका थिए ।

प्रकाशित मिति २०८० साउन १ गते सोमबार ०३:४३

हजुरको प्रतिक्रिया