पोखरा
अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोलाको पुरानो आकार आजदेखि खोजिने भएको छ । पोखरा महानगरपालिकाले प्राविधिक वासुदेव पौडेलको नेतृत्वमा गठन गरेको टोलीले खोलाको पुरानो बाटो खोज्ने भएको हो ।
महानगरले मंगलबार पौडेलको नेतृत्वमा खोला सिमांकन समिति गठन गरेको र त्यसले आजबाट काम सुरु गर्ने महानगरले जनाएको छ । समिति संयोजक वासुदेव पौडेलका अनुसार आज बिहान फिर्केको पुछार फेवातालबाटै सीमांकन सुरु गरिनेछ ।
महानगरका अनुसार हाललाई मापदण्ड नभई तालको सीमांकनमात्रै गर्न लागिएको हो । मापदण्डबारे विवाद रहेकाले सुरुमा तालको पुरानो आकारको मात्रै खोजी गरिनेछ ।
जानकारहरुका अनुसार ४० मिटरसम्म फैलिएको यो खोला अतिक्रमण गरेर खोलामाथि नै संरचना ठड्याउँदा कतै अस्तित्व नै देखिँदैन । केही वर्षसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै लायन्स क्लब र एउटा धार्मिक संस्थाले व्यापारिक भवन ठड्याएका छन् ।
पोखरा महानगर–१८, अँधेरी कुनादेखि सुरु भएर पस्र्याङ, मालेपटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्केखोला लामो समयदेखि मापदण्ड १० मिटर कायम छ । तर, उक्त मापदण्ड लागू गर्न नसक्दा फिर्केखोला मिचिनेमात्रै होइन, बीचबीचमा गायबसमेत भएको छ ।
फिर्केखोला अतिक्रमणमात्रै होइन, ढल तथा मलमूत्रसमेत मिसाउँदै आइएको छ । खोलामा फालिएको ढल तथा मलमूत्र सिधै फेवातालमा गएर मिसिदा दुर्घन्धित बनेको छ ।
प्रकाशित मिति २०८० साउन ३ गते बुधबार ०७:१५




