मापदण्डमा पर्नेलाई हटाइ छाड्ने मेयर आचार्यको प्रतिबद्धता
पोखरा
पोखरा महानगरले बुधबारदेखि अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको पुरानो आकार खोज्न सुरु गरेको छ । अमिन वासुदेवको पौडेलको नेतृत्वमा टोली गठन गरेर पोखरा खोलाको पुरानो बाटो खोज्न सुरु भएको हो ।
फिर्केखोलाको अन्तिमबिन्दू गाईघाटदेखि खोलाको वास्तविक बाटो खोज्न थालिएको हो । त्यसका लागि २०३२ सालको नक्सालाई आधार मानिएको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार हाल खोलाको मापदण्ड नभई खोलाघरमात्रै सीमांकन गर्न थालिएको र एकहप्ताभित्रै टुंग्याइने छ ।
जानकारहरुका अनुसार ४० मिटरसम्म फैलिएको यो खोला अतिक्रमण गरेर खोलामाथि नै संरचना ठड्याउँदा कतै अस्तित्व नै देखिँदैन । केही वर्षसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै लायन्स क्लब र एउटा धार्मिक संस्थाले व्यापारिक भवन ठड्याएका छन् ।
पोखरा महानगर–१८, अँधेरी कुनादेखि सुरु भएर पस्र्याङ, मालेपटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्केखोला लामो समयदेखि मापदण्ड १० मिटर कायम छ । तर, उक्त मापदण्ड लागू गर्न नसक्दा फिर्केखोला मिचिनेमात्रै होइन, बीचबीचमा गायबसमेत भएको छ ।
फिर्केखोला अतिक्रमणमात्रै होइन, ढल तथा मलमूत्रसमेत मिसाउँदै आइएको छ । खोलामा फालिएको ढल तथा मलमूत्र सीधै फेवातालमा गएर मिसिँदा दुर्घन्धित बनेको छ ।
प्रकाशित मिति २०८० साउन ३ गते बुधबार ०२:३७




