पोखरा
फिर्केखोला संरक्षणका लागि सीमांकन थालेको पोखरा महानगरले हालसम्मको सीमांकनमा ४५ भन्दा बढीले खोला मिचेर पक्की संरचना बनेको पाइएको जनाएको छ ।
महानगरले साउन ३ गतेदेखि अमिन बासुदेव पौडेलको नेतृत्वमा अतिक्रमणको चर्को चपेटामा परेको खोज्न सुरु गरेको थियो ।
पोखराको मध्यभाग भएर बग्ने फिर्केखोला ८ किलोमिटर लामो छ ।
जानकारहरुका अनुसार केही वर्षअगाडिसम्म ४० मिटरसम्म फैलिएको फिर्केखोला अतिक्रमणको चपेटामा पर्दा साँघुरिएको मात्रै छैन, कतै अस्तित्व नै देखिँदैन ।
केही वर्षसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै एक लायन्स क्लब र एउटा धार्मिक समितिले व्यापारिक भवन बनाएका छन् ।
अमिन पौडेलले हालसम्म करिब ७ किलोमिटर दूरी सीमांकन सकिएको जानकारी दिए ।
‘अब एक, डेढ किलोमिटर दूरीमात्रै बाँकी होला । यो अवधिमा ४५ भन्दा बढीले खोलाकै आकार मिचेर पक्की घरसंरचना बनाइएको पाइयो,’ उनले भने, ‘अब बाँकी २, ३ दिनमा सकिन्छ । त्यसपछि सबै थाहा हुन्छ ।’
खोला मिचेर संरचना बनाउनेमा विभिन्न ५ वटा समाजघरसमेत छन् ।
उनका अनुसार हालसम्म ४ सय वटा सीमाना पिल्लर गाडिएको छ ।
फिर्केखोलाको अन्तिमबिन्दू गाईघाट (फेवाताल, ड्यामसाइड) देखि खोलाको वास्तविक बाटो खोज्न थालिएको थियो ।
खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ ।
फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने योजना महानगरको छ ।
एसियाली विकास बैंकको पोखरामा ‘सस्टेनेबल टुरिजम्’का लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने महानगरको भनाइ छ ।
प्रकाशित मिति २०८० साउन २१ गते आइतबार ०७:५९




