सालिकहरुको व्यवस्थापन पोखरा–१८ को विभूति पार्कमा गर्ने
पोखरा
पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । पोखरा महानगरपालिकामा शुक्रवार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू एक महिनाभित्र व्यवस्थापन गर्ने निर्णय भएको हो । जसका लागि पोखरा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरिनेछ ।
सर्वदलीय बैठकको निर्णयमा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र व्यवस्थापन गर्ने निर्णय गरियो ।’
पोखरा महानगरपालिकाले पोखरामा चोकहरूमा रहेका सालिकहरूको व्यवस्थापन पोखरा १८ स्थित विभूति पार्कमा गर्दै आएको छ । पोखराका चोकहरूमा रहेका सालिकहरूको स–सम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको मेयर धनराज आचार्यले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नु भन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने बताए । विवादको शान्तिपूर्ण समाधानमा जोड दिँदै घिमिरेले दीर्घकालीन रूपमा सडकमा सालिक रहन्नन् भन्ने कुराको जानकारी हुदाँहुदैँ पनि क्षणिक रूपमा सडकमा राख्ने विषयको वकालत गर्नु उपयुक्त नहुने जिकिर गरे ।
बैठकमा सहभागी दलका प्रमुख तथा प्रतिनिधिहरूले सडकमा रहेका सालिकहरूको उचित व्यवस्थापनमा मतएक्यता प्रकट गरेका छन् । सडकको बिचमा सालिक राख्दैमा उनीहरूको योगदानको सम्मान नहुने भन्दै एकीकृत रूपमा सबै सम्मानित व्यक्तिहरूको प्रतिमा व्यवस्थापनमा दलहरूले जोड दिए ।सामाजिक रूपमा कायम सद्भावलाई खलल पु¥याउने काम कोही कसैबाट हुन नहुने भन्दै उनीहरूले एक महिना भित्र सबै सालिकहरूको व्यवस्थापन विभूति पार्कमा गर्ने विषयमा सहमति जनाएका छन् ।
प्रकाशित मिति २०८० साउन २६ गते शुक्रबार ०६:४७




