पृथ्वीनारायण कै प्रतिमा नराखे निरन्तर आन्दोलन गर्ने चेतावनी
पोखरा
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखराका मेयर धनराज आचार्यकोे पुत्ला दहन गरेको छ । पृथ्वीचोकबाट मध्यरातमा मेयर आचार्यकोे आदेशमा पृथ्वीनारायण शाहको प्रतिमा हटाइएको भन्दै पुत्ला जलाएको हो ।
आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाएपछि शालिकको विवाद सुरु भएको थियो । आदिवासी जवनजातिले हटाएपछि राप्रपाले फेरि पृथ्वीनारायण शाहको प्रतिमा लखन थापाको शालिकसँगै राखेको थियोे । शुक्रबार मध्यराति महानगरले फेरि प्रतिमा हटाएको हो ।
पोखराका मेयर धनराजले देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेकोे राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले बताए । पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक हुनुपर्ने उनकोे भनाइ थियो ।
चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको आरोप राप्रपाको छ । लखन थापाप्रति पनि सम्मान गर्ने तर पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक राख्नुपर्ने गुरुङको भनाइ छ ।
मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाउँदै पुत्ला जलाएको राप्रपाले निरन्तर आन्दोलन गर्ने अध्यक्ष गुरुङले बताए ।
प्रकाशित मिति २०८० साउन २७ गते शनिबार ०७:५२




