२०८३ असोज २४ गते शनिबार

पोखराका ट्याक्सी मिटरमा चल्न थाले

पोखराका ट्याक्सी मिटरमा चल्न थाले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १ गते शुक्रबार ०६:४५

ट्याक्सीले मनपरी भाडा असुल्ने जनगुनासो भएकाले मिटरमा चलाउन ट्याक्सी व्यवसायीलाई सहमत गराएको मन्त्री जुग्जालीले बताए ।

पोखरा

पोखराका ट्याक्सी मिटरमा चल्न थालेका छन् । शुक्रबारदेखि पोखरामा चल्ने ट्याक्सीले यात्रुसँग मिटरमा उठेको भाडा लिन थालेका हुन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्न थालेपछि यात्रुलाई सहज भएको छ ।

२०७८ फागुन १ देखि लागू हुनेगरी गण्डकी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यहाँका ट्याक्सी मिटरमा चलेका थिएनन् । शुक्रबार ट्याक्सी मिटरमा चल्न थालेसँगै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले छड्के अनुगमनसमेत गरे । यातायात व्यवस्था कार्यालय (सवारी) कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीसँगको समन्वयमा उनले छड्के अनुगमन गरेका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा गरिएको अनुगमन अधिकांश ट्याक्सीले मिटरमा उठ्ने भाडा अनुसार यात्रु बोकेका छन् । सबैभन्दा बढी भाडा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्ने ट्याक्सीले लिने गरेको गुनासो हुन्थ्यो ।

ट्याक्सीले मनपरी भाडा असुल्ने जनगुनासो भएकाले मिटरमा चलाउन ट्याक्सी व्यवसायीलाई सहमत गराएको मन्त्री जुग्जालीले बताए । ट्याक्सी व्यवसायीलाई सहमत गराएर मिटरमा चलाउन अनिवार्य गरेको उनको भनाइ छ । उनले आफूले मन्त्रालयमा रहुन्जेलसम्म पोखरा गुड्ने ट्याक्सीले मिटरमा उठेको भाडा लिने दाबी गरे । ‘पहिला के कारणले लागू भएन त्यसको समिक्षा पनि गरेका छौं’, उनले भने, ‘अहिले म हुने बेलासम्म यो नियम लागु हुन्छ ।’

ट्याक्सी व्यवसायीले मिटरमा यात्रु चढाए नचढाएको निरन्तर अनुगमन हुने मन्त्री जुग्जालीको दाबी छ । ‘धेरै चरणमा ट्याक्सी व्यवसायसँग छलफल गरेर यो निष्कर्षमा आएको हो । रातो प्लेटले यात्रु बोक्ने अनुमति छदै छैन । बोकेको पाए कडाइपूर्वक कारबाही गर्छौं’, इन्ड्राइभप्रति लक्षित गर्दै उनले भने ।

२ वर्षअघि समायोजन गरिएको भाडादर अनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ । १५ किलोमिटर भन्दा बढीको दूरीमा प्रति किलोमिटरको ३७.५० कायम गरिएको छ ।

प्रकाशित मिति २०८० भदौ १ गते शुक्रबार ०६:४५
हजुरको प्रतिक्रिया